मनोरथ फुयाल ।
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको जुन तारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ बार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दे साकोसका अध्यक्ष अग्नी प्रसाद न्यौपानेले संस्थाको अवस्था राम्रो रहेको बताउँदै खुलेर कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले गरिबको गाँस काटेर जम्मा गरेको कस्तो सहकारीमा जम्मा गर्दैछु यस संस्थाको संचालकहरु कस्ता र कहाँबाट आएको हुन भन्ने कुराको हेक्का राख्न अनुरोध गरेका थिए ।
सदस्यहरुलाई प्रमुख अतिथी पोखरेलले एक भन्दा बढी सहकारीको सदस्य नबन्न आग्रह गर्दै आफ्नो सहकारीसँग नजिक भएर कारोबार गर्न र यसको अवस्थाको बारेमा बारम्बार जानकारी लिइरहन आग्रह गरे ।
साधारणसभाको अवसरमा संस्थाले जेष्ठ सेयर सदस्य,उत्कृष्ट बचत कर्ता, उत्कृष्ट लगानीकर्ता, उत्कृष्ट अंक ल्याई प्लस टु उत्रिण गर्ने सेयर सदस्यका सन्तान लाई सम्मान गरेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल, पशुपालन सहकारी संस्थाका अध्यक्ष छत्र बहादुर गुरुङ साथै छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संस्थाकी उपाध्यक्ष भिम कुमारी बरालले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन दिनेश गुरागाईंले गरेका थिए ।कार्यक्रम संस्थाका अध्यक्ष अग्नी प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।