प्रकाश बन्जरा
विदामा घर पुगेको बेला घुम्दै घुम्दै इटहरी बालग्राम चोक पश्चिममा कार्यालय भएको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था पुगेँ । संस्थाको सदस्य पनि भएको हुनाले संस्थाको गतिविधिमा चासो राख्नु मेरो कर्तव्य जस्तै लाग्छ । उदेश्य भनेको संस्थाका अध्यक्षलाई भेटेर संस्थाको अवस्थाको बारेमा जानकारी लिने थियो । प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतसँग छोटो कुराकानी भयो । संस्थाको प्रगती, हाल भइरहेको सहकारी समस्या र कारोबारको बारेमा चासो राखेँ बस्नेतले संस्थाको अबस्था सरसर्ती सुनाए । सहकारी शव्द नै बदनाम भएको बेला उत्कृष्ट अवस्था त हाम्रो पनि छैन तर संस्था राम्रो चलेको छ । तरलताका प्रशस्त मात्रामा छ सदस्यले चाहेको बेला आफ्नो खाँचो टारिराख्नु भएको छ । बचत र ऋणमा हामी सदस्य शिक्षासँगै राम्रो काम गरिरहेका छौँ । पुस्कर सरको भनाई थियो ।
संस्थाका संचालक अध्यक्ष शालिकराम ढकाल भने सदस्य शिक्षा कार्यक्रममा ब्यस्त रहेछन् । बालग्राम चोक पश्चिममा रहेको संस्थाको भवनको माथिल्लो तलामा खचाखच सदस्यहरु थिए जो संस्थाको नियमित भरपुर सदुपयोग गरिरहेका छन् । सदस्यलाई संस्थाको बारेमा कहिले समुदायमा पुगेर त कहिले संस्थामै बोलाएर शिक्षा दिने गरेको रहेछ । सदस्य शिक्षा कार्यक्रममा सदस्यलाई सहकारी संस्था भनेको के हो । बचत किन महत्वपुर्ण हुन्छ । सदस्यले संस्थाबाट के के सुविधा लिन सक्छन् कहिले कुन अवस्थामा कसरी ऋण लिन सकिन्छ । संस्था कसरी चलेको छ । जस्ता कुराको जानकारी गराउनुको साथै सदस्यहरुले संस्थाबाट गरेको अपेक्षाको बारेमा समेत कुरा हुने रहेछ ।
समयलाई सदुपयोग गर्दै मैले पनि सदस्य शिक्षा कार्यक्रमलाई एकैछिन नियालेँ । सदस्यहरुले अध्यक्षसँग नियमति बचत, ऐच्छिक बचत लगायत सहकारीहरूले लैजाने भ्रमणहरूको बारेमा चासो राखे । सबैकुरा को जवाफ दिइरहेका अध्यक्ष ढकालले सहकारीहरूले दिने विलासिताको भ्रमणमा भने निकै कठोरको जवाफ दिए । म अध्यक्ष रहँदा सम्म हामी विलासिताका भ्रमणमा खर्च गर्दैनौँ । तर संस्थाको नाम अनुसार किसान दाजुभाइलाई बर्षे पिच्छे कृषि अवलोकन भ्रमण लान्छौं जसमा उदाहरणीय कृषि कर्म गरिरहेका अन्य सहकारी र फर्महरु बाट हाम्रा सदस्यहरुले पनि केहि सिकुन र कृषि कर्ममा लागु भन्ने हो । ढकाल भन्दै थिए । सहकारीमा भएको नाफा भनेकै सदस्यहरुको पैसा हो आफ्नो सेयर लगानी अनुसार सबै सदस्यले नाफाको हिस्सा पाउँछन् । बिलासिताका भ्रमणमा खर्च गर्नुभन्दा उपयोगितामा लगानी गर्नुपर्छ । ढकाल भन्दै थिए ।
गज्जबको कुरा त के भने सहकारीमा कारोबार गर्ने सदस्यहरुले आफ्नो कारोबारको आधारमा केहि रकम फिर्ता पाउने रहेछन् । संस्थाले संरक्षित पुँजी फिर्ता कोष मार्फत सदस्यलाई बेला बेला घरबाटै बोलाएर सदस्य शिक्षाका साथै जम्मा भएको रकम दिएर सदस्यलाई पठाउने रहेछ त्यो कार्य भने गज्जव लाग्यो । करिव २ घण्टा सदस्यलाई सहकारी पढाइएपछि उनै सदस्यको योगदानले ठुलो आकार बनाएको सहकारीले उनैलाई पुँजी फिर्ता गर्ने रहेछ त्यो कर्म प्राय सहकारीमा देखिएन ।
सहकारीको आकार बढ्दै गएपछि व्यवस्थापनमा उत्तिकै चुनौती हुने रहेछ । किसान कल्याणसँग हाल ७ वटा सेवा केन्द्र र आफ्नो मुख्य कार्यलय गरी जम्मा ८ ठाउँबाट संस्थाको गतिविधि गरिरहेको छ । कहिले गाउँ टोल क्षेत्रिय भेला कहिले सदस्य विस्तार कार्यक्रम त कहिले लघुवित्त समुह अभिमुखीकरण यी संस्थाले सदस्यलाई जोडेर गर्ने गरेका कार्यक्रमहरु हुन । त्यतिमात्रै नभएर बेला बेलामा वित्तीय साक्षरताका कार्यक्रमहरु समेत संचालन गर्ने गरिएको रहेछ । जसमा सदस्यहरुले बचत कसरी गर्ने, बचतले के कस्तो सहयोग गर्ने गर्छ भन्ने जस्ता कुराको शिक्षा लिने गरेका रहेछन् ।
सदस्यलाई बचत सिकाउने क्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेत भन्छन् खर्च गरिसकेपछि बचेको पैसा बचत गर्नेहैन बरु बचत गरिसकेपछि बचेको पैसा खर्च गर्नुपर्छ भन्ने शिक्षा आफुहरुले सदस्यहरुलाई दिने गरेको बताउँछन् ।
सदस्यलाई सामाजिक गतिविधिमा संलग्न गराउन किसान कल्याणले सेवा केन्द्रहरुलाई सहभागि गराएर युवा क्लव समेत गठन गरेको छ । २०५३ सालमा ३४ जना सदस्यबाट प्रति सदस्य ५० रुपैयाँको लगानीमा स्थापना भएको सहकारी संस्थाको फागुन महिनाको अपरिष्कृत विवरण अनुसार १४ करोड ७६ लाख ९८ हजार सेयर पुँजी पुगेको साथै जगेडा कोषमा ११ करोड २४ हजार रकम पुगेको र संस्थाले १ अर्व ४ करोड ६५ लाख ६३ हजार १६२ रुपैँया बचत संकलन गर्दै १ अर्व ८ करोड ६१ लाख १० हजार ४०० रुपैँया ऋण लगानी गरेको संस्थाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाउँछ ।
संस्थासँग हाल १ अर्व ४१ करोड ८१ लाख १० हजार ५८८ रुपैँया बराबरको कुल सम्पत्ति रहेको र २६ करोड १४ लाख २३ हजार ५९९ रुपैँया रकम तरलता समेत रहेको बताउँछ । यसरी हेर्दा सहकारीहरूको भिडमा किसान कल्याणले आफ्नो छुटै पहिचान बनाएको छ ।
समय समयमा सदस्यलाई आफनो पारदर्शिता देखाउनु, चिनजान मा भन्दा पनि संस्थाको विनियम अनुसार मात्रै आर्थिक कारोबार हुने भएकोले आफुहरु प्रति सदस्यको विश्वास बढेको संस्थाका अध्यक्ष ढकाल सुनाउँछन् ।
हाल आफूहरुसँग संस्थामा २४ हजार २४२ जना सदस्यहरु सक्रिय रुपमा रहेको संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले सुनाए ।
संस्थाले गत बर्ष कोशी प्रदेश सहकारी रजिष्टारको कार्यालयबाट प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कार प्राप्त गरेको थियो भने प्रदेशको उदाहरणीय सहकारी संस्थाको रुपमा अन्य प्रदेश तथा जिल्लाहरुबाट धेरै भ्रमण तथा अवलोकन गरिने संस्थामा किसान कल्याण पर्ने गरेको छ ।
धेरै सहकारीहरू स्वार्थले खोलिएको पाइएको छ । संचालकहरुको स्वार्थ बाझिएका कारण आज सहकारीहरू धरासायी बनेका छन् । कतिले सर्वसाधारणको बचत संकलन गरेर अचल पुँजी खरिद गरेका छन् भने कतिले जग्गा प्लटिगँमा लगाएर सदस्यको पैसा फ्रिज बनाएका छन् जसको कारण दुख गरेर कमाएको पैसा लिन आउँदा सदस्यले रित्तो हात फर्कनुपरिरहेको छ ।
जसको ज्वलन्त उदाहरण धरानको बराह बचत तथा ऋण सहकारी तथा इटहरीकै अम्बे बचत तथा ऋण सहकारी लगायत छन् । जसले बचत कर्ताको बचत जथाभावि खर्च गरिदिँदा आज सहकारीको नामै बदनाम भएको छ ।
उदाहरणिय काम गरिरहेको किसान कल्याणबाट अरु सहकारीले पनि सिक्नुपर्ने बेला आएको छ । सहकारी शव्दमा बिचलन छैन तर केहि केहि सहकारीले गर्दा धेरैलाई त्यहि डालोमा हालेर हेर्नुपर्ने अवस्था सिर्जना गरिदिएका छन् जसले गर्दा उपभोत्तालाई अन्यौलको वातावरण बनेको छ । वास्तवित नीति र विधिमा चलेका सहकारीमा समस्या छैन तर सहकारीमा सदस्य बन्नुनै ऋण खाने र नतिर्ने उदेश्य भएका केहिले गर्दा बेतिथीको सिर्जना भएको पाइन्छ । सहकारीको सहि अर्थ सहकार्यता हो त्यसैले एक अर्कामा सहकार्य गर्दै सामुहिकतामा अगाडी बढ्न सघाउँछ । समुदायमा बचत गर्न सिकाउँछ र साह्रो गाह्रो पर्दा आफुले बचत गरेकै ठाउँमा ऋण पाइन्छ जुन सहकार्यताको उत्कृष्ट काम हो । ठुलो सदस्य संख्या हुँदै जाँदा बाटो बिराउने अवस्था नआओस भन्दै किसान कल्याणलाई यत्तिमै सिमित नहुन र सदस्यलाई अझ तागतिलो बनाउँदै सहकारीको उच्च्तम उदाहरण बनेर देखाउन शुभकामना छ ।