इटहरी । रामधुनी नगरपालिका कार्यक्षेत्र रहेको जनहित बहुमुखी सहकारी संस्था लिमिटेडको १९ औँ बार्षिक साधारणसभा शनिवार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
रामधुनी नगरपालिकाका नगरप्रमुख शंकर लाल चौधरीको प्रमुख आतिथ्यता तथा सहकारी शाखा रामधुनीका प्रमुख सत्यनारायण चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न १९ औँ साधारणसभामा १२ जना जेष्ठ नागरिकलाई नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शंकर लाल चौधरी र सहकारीका अध्यक्ष गुणराज काफ्लेले दोसल्ला ओढाएर नगद र सम्मानपत्र सहित सदस्यका एकाघरका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन ।
गत बर्ष सहकारी पसल बन्द गरेको जनहितले यो बर्ष भने गत बर्ष सहकारी पसल सञ्चालन गर्दाका बखतको घाटा पूर्तिमा लगाएको बताएको छ । लामो समय देखि जोगाएर ल्याएको संस्थालाई बचाउनका लागि खर्च कटौति गर्दै सञ्चालक सदस्यले पाउने भत्ता समेत नलिने स्वघोषणा गरेर यो बर्ष संस्थाको घाटा पूर्तिमा लगाइएको र आगामी आर्थिक बर्षमा संस्थाले सन्तोषजनक प्रगति पस्कने प्रतिवद्धता साकोसका अध्यक्ष गुणराज काफ्लेले गरेका छन् ।
संस्थाले गत आर्थिक बर्ष २०७९ र८० मा ५७ जना सदस्यको स्वास्थ्य बिमा कार्यक्रममा साझेदारी गरेको विवरण प्रस्तुत गरिएको छ भने १ जना सुत्केरीलाई राहत प्रदान गरिएको छ ७ जना सदस्यको मुत्यु राहत अन्तर्गत समवेदना प्रकट गरेको बताएको छ ।
साधारणसभाको अवसर पारेर साकोषले ५ जना बचत कर्तालाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको छ जसमा रामधुनी ५ का गणेश नेपाल, हरी बहादुर खड्का, इन्दिरा दाहाल नेपाल र केशव पाण्डे छन् भने रामधुनी १ की मंगली देवी चौधरी रहेकी छन् ।
यस्तै उत्कृष्ट ऋणी तर्फ व्यावसायी फारुक खान र रामधुनी ३ की सिता बस्नेत पुरस्कृत भएका छन् ।
सहकारी संस्थाले संस्थागत विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने नुमिना बुढाथोकी र सहकारी विद्यालयबाट उत्कृष्ट अंक ल्याउने रोहित लुइँटेललाई समेत सम्मान गरिएको थियो भने जेष्ट नागरिक सम्मान पाउनेहरूमा रत्न बहादुर चौहान, मदन कुमारी नेपाल, कोशी प्रसाद उपाध्याय पोखरेल, देवका देवी पोखरेल, बुधमाया लिम्बु, टिका प्रसाद काफ्ले, गंगा देवी काफ्ले , कुल बहादुर बस्नेत, यसोदा नेपाल, शंकर प्रसाद घिमिरे, भिम प्रसाद दाहाल र कर्ण बहादुर घिमिरे छन् ।
साधारणसभामा छिमेकी सहकारी संस्थाका अध्यक्षहरुको साथै साकोसका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले आर्थिक विवरण प्रस्तुत गर्दै यस आर्थिक बर्षमा संस्थाको सेयर पुजी ८८ लाख ४० हजार २ सय पुगेको बताए जुन आर्थिक बर्ष २०७८र ७९ मा ८८ लाख ३५ हजार पुगेको बताए ।
यस्तै संस्थाको जगेडा कोष समेत ४ लाख ३३ हजारबाट बढेर ४ लाख ५० हजार पुगेको छ । जनहितले आर्थिक बर्ष २०७९ ८० मा १ करोड ६७ लाख ९७ हजार ३५९ रुपैंया निक्षेप संकलन गर्दै २ करोड ३८ लाख ४५ हजार ८४७ रुपैया कर्जा प्रवाह गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले सहकारी संस्थामा स्थानीय संचालक रहँदा बचत कर्ताको रकम सुरक्षित रहने बताउँदै ऋण नतिर्ने सदस्य कालोसुचीमा पर्ने डर हुने हुँदा सहकारी संस्थामा स्वस्थ कारोबार गर्न आग्रह गरेका थिए । कार्यक्रम संस्थाका सचिव देवराज पोखरेलले संचालन गरेका थिए ।