प्रकाश बन्जारा ।
इटहरी । दुग्ध जन्य बस्तुको उत्पादन बिक्रि नहुँदा कामधेनु लगायत ठुला दुध प्रसोधन गर्ने संस्थाले किसानलाई समयमा दुधको भुक्तानी गर्न सक्ने अवस्था हराउँदै गएको सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले खुलासा गरेका छन् ।
शनिवार चतराको औलिया बाबाको मन्दिर प्रागढमा आयोजित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको पच्चिसौँ बार्षिक साधारणसभामा आफ्नो मन्तव्य राख्दै कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष ढकालले कामधेनुसँग मात्रै १२ करोड भन्दा माथिको मूल्यका दूधका परिकारहरु बिक्रि नभई स्टकमा रहेको खुलासा गरेका हुन ।
उनले सरकारले बढाउने करका कारण दुग्ध जन्य उत्पादन महंगो भएको र किसानले दुध उत्पादन खर्च समेत बढेको भन्दै मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न स्थानीय सरकारका नेतृत्व पंक्तिलाई आग्रह गरेका हुन ।
साना किसानहरुले उत्पादन गरेको दुध आफुहरुले खरिद गर्ने गरेको भएता पनि अहिले आफुहरुले प्रशोधन गरेर गरेका उत्पादनहरु बिक्रि हुन नसकेका कारण किसानलाई दुधको रकम भुक्तानी गर्न गाह्रो भइरहेको ढकालले बताए ।
कोशी प्रदेशमा मात्रै २ अर्ब बढीको उत्पादन स्टकमा रहेको बताउँदै ढकालले कामधेनुसँग मात्रै पनि १२ करोड रुपैँया बराबरको दूधजन्य उत्पादन बिक्रि नभई स्टकमा रहेको बताएका हुन । दशैको मुखमा दुधको रकम भुक्तानी नहुदा किसान आमा दिदी बहिनीको यसपाली दशैं नआउने अवस्था छ रहेको बताउँदै ढकालले दशैमा टिका थाप्न मान्यजनको घरमा जाँदा कोक र फेन्टा भन्दा पनि आफ्नै देशमा प्रशोधन गरेर उत्पादन गरेको दुध जन्य उत्पादनहरु कोसेलीको रुपमा लैजान आग्रह गरेका छन् ।
दशै तिहार छठमा पारीबाट आएका मिठाई र दुध जन्य पदार्थहरूलाई बहिष्कृत गर्दै नेपालीले उत्पादन गरेको उत्पादन खरिद गर्न अनुरोध गर्दछु । कार्यक्रममा अध्यक्ष ढकालले अनुरोध गरे ।
दुध उत्पादन लागत बढेका कारण र दुध जन्य पदार्थहरु भारतीय बजारबाट आयातीत उत्पादनहरूले बजार लिएको र यसलाई बहिस्कार गर्नुपर्ने अवस्था आइसकेको ढकालको भनाई छ ।