रामधुनी । प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्का सुनसरीको इन्चार्जको रुपमा प्रहरी निरीक्षक सुजन मुदेल हाजिर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट आएका प्रहरी निरीक्षक मुदेललाई सोमबार रामधुनी नगरपालिका र झुम्का उद्योग वाणिज्य संघले न्यानो स्वागत गरेको छ ।
मोरगं सुनसरी सिंचाई आयोजनाको भवनमा रहेको प्रस्तावित इलाका प्रहरी कार्यलयमा सोमबार आयोजित एक कार्यक्रमका बिच उद्योग वाणिज्य संघका प्रतिनिधि साथै नगरपालिकाका नगरप्रमुख, उपप्रमुख साथै वडाअध्यक्षहरूको टोलीले प्रहरी निरीक्षकको स्वागत गरेको हो ।
गत साउन २८ गते प्रहरी निरिक्षक रविभुषण यादवको सरुवा भएपछि प्रस्तावित इलाका प्रहरी कार्यलय इन्चार्ज बिहीन थियो । एक पालिका एक इलाका भन्ने सिद्धान्त बमोजिम रामधुनी नगरपालिकाको पहलमा ल्याइएको इलाका प्रहरी कार्यलय अहिले प्रस्तावित मात्रै छ । प्रस्तावित इलाका प्रहरीमा प्रहरी निरीक्षकको नेतृत्वमा २२ जना प्रहरी हुनुपर्नेमा हाल १६ जनाको टोली रहेको बताइएको छ ।
प्रहरी निरिक्षक मुदेलको स्वागत कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले चाँडै इलाकाले स्थायी रुप लिने विश्वास व्यक्त गरेका छन् । स्थायी इलाका प्रहरी आउन्जेलको समयलाई नगरपालिकाले आफ्नै बजेटमा भौतिक संरचना देखि लिएर सवारीमा तेलको समेत व्यवस्था गर्दै आएको छ ।
सोमबार भएको स्वागत कार्यक्रममा झुम्का उद्योग वाणिज्य संघका वाणिज्य सचिव मनिष गेलाल, सदस्यहरु कोषाध्यक्ष सुनिल चौधरी, सदस्यहरु जिवन मगर र रोशन घिमिरे उपस्थित भए भने नगरपालिकाबाट नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, वडा नम्बर २ का वडाअध्यक्ष रामनारायण चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष बुध नारायण चौधरी, वडा नम्बर ८ का वडाअध्यक्ष सुरेन्द्र सिंह खवास र वडा नम्बर ७ का वडाअध्यक्ष केशव गौतम उपस्थित भएका थिए ।