इटहरी । इटहरी २० मा रहेको साविक सुन्दर बचत तथा ऋण सहकारी संस्थासँगको एकिकरण पछि इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले तरहरामा आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
एकिकरण पछि सुन्दर सेवा केन्द्र नामाकरण गरेको तरहरा सेवा केन्द्रका सदस्यहरुको भव्य उपस्थितीमा तरहरा स्थित भुत पुर्व सैनिक भवनमा भएको साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले पानसमा दिप प्रज्वलन गर्दै र सहकारीका संस्थापकको तस्विरमा माल्यार्पण गर्दैै साधारणसभाको औपचारिक उद्घाटन गरेका थिए ।
संस्थाका संचालक सहित सदस्यहरुको उपस्थितीमा आयोजित साधारणसभामा आर्थिक बर्ष २०८०÷८१का लागि प्रस्तावित योजनाको बिषयमा छलफल गरिनुका साथै आगामी नीतिका बारेमा समेत छलफल गरिएको थियो ।
संस्थाले इकाइ गत रुपमा आयोजना गरेको साधारणसभा शुक्रबार बांगे र राजावास सेवा केन्द्रको एकैठाउँमा आयोजना गरिएको थियो भने दोस्रो सुन्दर सेवा केन्द्रमा आयोजना भएको हो । असोज १९ गतेदेखि २५ गतेसम्म संस्थाले आफ्नो इकाइ गत साधारणसभा बिभिन्न सेवा केन्द्र लक्षित गरेर गर्दैैछ । आइतबार चतरा सेवा केन्द्र लक्षित साधारणसभा गरिने किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
संस्थाको चालु २२ औँ बार्षिक साधारणसभाबाट आगामी ४ बर्षका लागि १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको समेत चयन गरिने संस्थाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए । किसान कल्याणले ७ वटा सेवा केन्द्र र मुख्य कार्यालयबाट सेवा दिँदै आइरहेको छ ।