विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।यो संगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेका छन् ।
विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड तथा भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा ९१० को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । दुई वटा थपिएसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेको छ ।
यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।