इटहरी । युवाहरुको एउटा समुहले धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घरमा तोडफोड गरेका छन् ।
हतियार सहित उपमेयरको धरान १५ स्थित घरमा प्रवेश गरेका युवाहरुले उपमेयर अइन्द्र बिक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन् । दोहरो झडप हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको छ । ‘दुई पक्षबीच झडप हुँदा उपमेयरका भाइ विष्णु घाइते भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले प्रमाणित गरेका छन् । केहिलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । घर तोडफोड गर्न थालेपछि तत्काल खबर गरिएको थियो ।यद्यपि प्रहरी भने समयमा नआएको गुनासो उपमेयर बेघाको छ । घटना भएर भिडभाड हुँदा समेत उपमेयर बेघा डिएसपीलाई प्रहरी पठाइदिन अनुनय गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।