इटहरी । इटहरी उद्योग वाणिज्य संघको आयोजनामा यहि भदौ १५ गतेदेखि १७ गतेसम्म चल्न लागेको महिला उद्यमशिलता प्रदर्शनीमा महिलालेनै बनाएका सामाग्रीलाई ग्राहायता दिएर प्रदर्शनीमा राखिने भएको छ ।
इटहरी स्थित लायन्स क्लवको हलमा आयोजना हुन लागेको प्रदर्शनीमा कोशी प्रदेशका १४ वटै जिल्ला सहित जनकपुरबाट मिथिला आर्ट तथा सिन्धुलीबाट समेत महिलाहरुले बनाएका उद्यमका सामानहरुको प्रदर्शनी हुने उद्योग वाणिज्य संघ इटहरीकी सदस्य तथा महिला समितिकी मिना ढकाल आचार्यले बताइन ।
बजारमा व्याप्त आर्थिक मन्दीका बिच पनि अर्थतन्त्रलाई चलायमान बनाउन साथै महिलाहरुले बनाएका सामाग्रीलाई बजार दिलाउन उद्योग वाणिज्य संघले प्रदर्शनीको आयोजना गर्न लागेको ढकालले बताइन ।
महिलाहरुको महान पर्व तीजको पुर्व सन्ध्यामा हुन लागेको प्रदर्शनीमा महिलाहरुको लागि व्युटिसियन देखि लिएर निशुल्क मेहन्दी लगाइदिने व्यवस्था समेत गर्न लागेको कार्यक्रम संयोजक ढकालले बेष्ट सञ्चारलाई बताइन ।
प्रदर्शनीलाई सफल पार्न अध्यक्ष जिवन पराजुली, उपाध्यक्ष विष्णु नारायण डाँगी, महिला समितिकी कोषाध्यक्ष बिजया प्याकुरेल लगायत खटिरहेका छन् । प्रदर्शनीका लागि आफुहरुले प्रदेशका बिभिन्न पालिका हरुसँग महिला उद्यमीलाई सहभागिता गराइदिन अनुरोध गर्दै प्रस्ताव पेश गर्न पुगेको महिला समितिकी कोषाध्यक्ष बिजया प्याकुरेलले बताइन ।
स्थानीय तहले सिफारिस गरेर पठाएका उद्यमीले प्रदर्शनीमा स्टल पाउने बताइएको छ । हेर्नुहोस् भिडियोमा प्रदर्शनी कस्तो हुनेछ त ।