काठमाडौं । सवारी साधानहरुको भव्य प्रदर्शनी हुने नाडा अटो सो यसपाली आगामी भाद्र २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।
“नाडा अटो शो–२०२३’ नाम दिइएको प्रदर्शनीमा १९ वटा नयाँ सवारीका ब्रान्ड थपिने भएका छन् भने सन् २०१९ मा सहभागि भएका केहि ब्राण्ड यसपाला नदेखिने भएका छन् ।
थपिनेमा ७ वटा ४ पाङ्ग्रे सवारीका ब्रान्ड रहेका छन् भने १२ वटा २ पाङ्ग्रे सवारीका ब्रान्ड रहेका छन् । नाडाले पहिलो पटक यस संस्करणको एक्सपोमा लाइट कमर्सियल भेइकललाई पनि समावेश गरेको छ ।
एक्सपोमा ७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल समावेश भएका छन् । दुई पाङ्ग्रे ब्रान्डको सहभागिता बढ्यो, चार पाङ्ग्रेको भने सहभागिता २०१९ को तुलनामा घटेको छ ।
कोरोना महामारीका कारण भएको लकडाउन लगायतका कारण ४ वर्षपछि हुन लागेको यस संस्करणमा २२ वटा दुई पाङ्ग्रे र १६ वटा चार पाङ्ग्रे सवारीका ब्रान्ड गरी ३८ वटा ब्रान्ड समावेश भएका छन् । सन् २०१९ मा आयोजित १४ औं संस्करणमा १९ वटा दुई पाङ्ग्रे र २३ वटा चार पाङ्ग्रे सवारी ब्रान्ड गरी ४२ वटा ब्रान्डको सहभागिता रहेने बताइएको छ ।
यसपालि अघिल्लो संस्करणको तुलनामा ७ वटा चार पाङ्ग्रे ब्रान्डको सहभागिता घटेको छ भने ३ वटा दुई पाङ्ग्रे ब्रान्डको सहभागिता थपिएको छ ।
यस संस्करणमा सिट्रोन, जी–इभी, ग्रेटवाल मोटर्स, म्याक्सस, नेटा, सरेस र विलिङ लगायतका ब्राण्ड थपिएका छन् । यस्तै, दुई पाङ्ग्रे सवारी ब्रान्डमा एफ्टेक, इभोक, जावा, कोमाकी, लेक्ट्रो, लिभनेङ, पियर इभी, सेगवे, स्लेन एन ९०, सुनरा, यडिया र जोन्टस रहेका छन् ।
एक्सपोमा चार पाङ्ग्रे सवारी ब्रान्डहरु इसुजु, फक्सवागेन, ड्याटसन, होन्डा, पुज्योट, फोटोन, जिप, साङयोङ, टोयोटा, माज्दा, मित्सुविसी, दाय, डीएफएसके र रेनल्ट सहभागी भएका छैनन् । यस्तै, दुई पाङ्ग्रेतर्फका १९ ब्रान्डहरु मध्ये यसपटक १० वटा ब्रान्डहरु सहभागी भएका छैनन् । सहभागी नहुनेमा यामाहा, हिरो, सीएफमोटो, रनर, बीएमडब्ल्यु, मियामा, एमभी अगस्टा, जिनियस, सुपर सोको र जीपीएक्स रहेका छन् ।
यो पाला चार पाङ्ग्रे सवारीमा बीवाईडी, सिट्रोन, फोर्ड, जी इभी, ग्रेटवाल मोटर्स, हुन्डाई, किया, महिन्द्रा, मेक्सस, एमजी, नेटा, निशान, सेरस, सुजुकी, टाटा र विलिङ सहभागी रहेका छन् । दुई पाङ्ग्रेमा एफ्टेक, बजाज, बेनीली, इभोक, होन्डा, जावा, कोमाकी, केटीएम, लेक्ट्रो, लिभनेङ, एनआइयु, पियर इभी, रोयल इन्फिल्ड, सेगवे, स्लेन एन ९०, सुनरा, सुजुकी, टीभीएस, भेष्पा–अप्रिला, यडिया र जोन्टस ब्रान्डको सहभागिता रहेको छ।