प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरको साविक ९ वटा वडा कार्यक्षेत्र रहेको टोल विकास लघु उद्यम सहकारी संस्थाले आफ्नो १३ औँ बार्षिक साधारण सभा इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।
१ हजार भन्दा बढी सदस्य रहेको टोल विकास लघु उद्यम इटहरी नगरको नियमभित्र पर्ने यस प्रकारको दोस्रो सहकारी हो । टोल विकास संस्थाहरुसँग कारोबार गर्ने हिसावले स्थापना भएको भएता पनि उदेश्य अनुरुप कारोबार गर्न भने नसकेको र हालै मात्र आफ्नै कोसेली घर स्थापना गरेको र लघु उद्यमको काम समेत सुरु गरिएको संस्थाका अध्यक्ष राजेन्द्र केशरी घिमिरेले बताए ।
संस्थाले साधारणसभामा आएका सदस्यलाई आफ्नै प्याकेजिङ उद्योगको उत्पादन सहकारी चिया उपहार स्वरुप प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद तिम्सिनाले टोल विकास संस्थासँग कारोबार गर्न खोलिएको भएता पनि पहिला असहज भएको र अव भने टोल विकासले आर्थिक कारोबार गर्न नपाउने भन्ने कुरा आएकोले उदेश्य अनुरुप जान सकिने बताएका थिए ।
साकोसले साधारणसभाको अवसर पारेर ८ जना जेष्ठ नागरिक, २÷२ जना कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका परिवारका सदस्य साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्यो भने निवर्तमान संचालक समितिलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका इटहरी प्रमुख चिरञ्जिवी तिम्सिनाले आर्थिक विवरण हेर्दा टोल विकास लघु उद्यम सहकारी राम्रो सहकारी भएकाले ढुक्क भएर सदस्यले कारोबार गर्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जिल्ला सहकारी संघ सुनसरीका गंगा प्रसाद दाहालले संस्थाले प्रकाशन गरेको आर्थिक विवरणमा सुझाव दिएका थिए भने कार्यक्षेत्रमा रहेर सहकारीको सिद्धान्त अनुरुप काम गर्न सल्लाह समेत दिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले कार्यक्षेत्र विस्तारका लागि मापदण्ड बन्न लागेको बताउँदै निकट भविश्यमा आवश्यक प्रक्रिया पुगेको अवस्थाका कार्यक्षेत्र विस्तारको अनुमति दिन सकिने बताए ।
टोल विकास लघु उद्यम सहकारीले कार्यक्षेत्र इटहरी उपमहानगर भरी माग गर्दै सहकारी शाखामा आवेदन दिएको बताएको छ भने उक्त प्रस्ताव साधारणसभामा समेत लगिएको छ ।
साकोसले गत आर्थिक बर्षमा १ करोड ३८ लाख ३५ हजार नाफा गरी १ करोड २४ लाख २९ हजार ८९९ रुपैँया खर्च गरको छ भने खुद नाफा १४ लाख ५ हजार १ सय १ रुपैँया कमाएको छ ।
संस्थाले १ करोड २४ लाख ६२ हजारको लक्ष्य राखेको थियो । चालु आर्थिक बर्षमा संस्थाले १ करोड ३८ लाख ३५ हजार नाफा कमाउने लक्ष्य अघि सारेको व्यवस्थापक सावित्री पोखरेलले बताइन ।