प्रकाश बन्जारा ।
इटहरी । इटहरी नगर सरकारले थप एक सय ५० प्रतिशत जरिवाना लिएर उपमहानगर क्षेत्रभित्र नक्सा पास नभई बनेका घर तथा संरचनाको अभिलेखिकरण असोज मसान्तसम्म गर्ने भएको छ ।
यस अघि अभिलेखिकरण मार्फत झण्डै एक बर्षदेखि पुराना घरको नक्सा पास गर्दै आएको उपमहानगरले अहिले भने डेढ सय प्रतिशत थप दस्तुर लिएर घर नक्सा अभिलेखिकरण गर्न लागेको हो ।
साथै सार्वजनिक विदाको दिन, कार्यलय समय अतिरिक्त बिहान तथा बेलुका अनलाइन मार्फत सेवा उपलव्ध गराएको डिजिटल घर नक्सा सम्बन्धि सेवा समेत कार्यलय समयमा नै गरे सरह मान्ने समेत शुक्रबार बसेको उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
साथै उपमहानगरले इटहरी १ मा रहेको सुन्दरदेवी हाउजिङ अन्तर्गतका भवनलाई समेत आवश्यक मापदण्डका आधारमा अभिलेखिकरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यता साविकको भवन निर्माण सम्बन्धि कानुनले तोकेको मापदण्ड पुरा भई निर्माण सम्पन्न प्रमाणपत्र लिएका सेवाग्राहीले तत्कालिन मापदण्ड अनुसार ४ र ६ वटा रड प्रयोग गरी बनाएका घरको समेत १ हजार बर्ष फिट सम्मको भवनको हकमा थप एक तला सम्म निर्माण इजाजत दिने निर्णय कार्यपालिका बैठकले गरेको छ ।