रामधुनी । रामधुनी नगरपालिकाले वडा नम्बर ५ मा रहेको कोभिड अस्पताललाई झुम्का आधारभुत अस्पतालको रुपमा स्तरोन्नती गरेको छ ।
गत ४ गते बसेको नगर कार्यपालिकाको बैठकले कुनै समय कोभिड हस्पिटलको रुपमा रहेको र तत्कालिन आधारभुत स्वास्थ्य केन्द्रको रुपमा रहेको हस्पिटललाई झुम्का आधारभुत अस्पतालको रुपमा उन्नती गरेको हो ।
यसैगरी नगरपालिकाले झुम्का आधारभुत अस्पतालमा ल्याव सेवा सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बिमाको सेवा सुरु गर्न नगरले गत बिमा बोर्डमा परिपत्र गरिसकेको छ भने स्वास्थ्य बिमाको सेवा सन्चालनमा आए ल्याव चलाउन सहज हुने विश्वास हस्पिटलले लिएको छ । बिमा बोर्डबाट चाँडै जवाफ आएको खण्डका स्वास्थ्य बिमाको उपचार र रिफरको काम हुने नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र पौडेल बताउँछन् ।
हालै ल्याव सेवा सुरु गरेको हस्पिटलले अहिले निशुल्क ल्याव सेवा दिइरहेको हस्पिटलका प्रमुख डा. सैयम कोइराला बताउँछन् । ल्याव सेवा सुरु भएपछि हस्पिटलमा बिरामीको चाप समेत बढेको कोइरालाको भनाई छ ।