इटहरी । राजश्व अनुसन्धान बिभागले मंगलबार पक्राउ गरेको करिव १ सय केजी सुन प्रकरणमा एक जना चिनिया नागरिक पक्राउ परेका छन् । प्रहरीले सुन तस्करीमा संलग्न भएको आशंकामा उनलाई त्रिभुवन अन्तराष्टिय बिमानस्थलबाट पक्राउ गरेको हो ।
उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परिसकेका छन् । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका विमानस्थल सुरक्षा कार्यालयले बताएको छ । प्रकरणमा यस अघि टयक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परिसकेका छन् ।
उनका अनुसार तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ । विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो । उक्त सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । त्यसका सञ्चालक पनि पक्राउ परेका छन् ।
स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो । अहिले टक्सार विभागमार्फत सुनको परिमाण निकाल्ने काम जारी रहेको छ ।