इटहरी । कोशी प्रदेश प्रहरी कार्यलयले प्रहरी निरिक्षक बुद्धिराम चौलागाई र प्रहरी जवान आयुष राई लाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
कार्यसम्पादन मुल्यांकको आधारमा प्रदेश प्रहरी कार्यलयले असार महिनाभरी निर्देशन पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउने प्रहरीलाई उत्कृष्ट प्रहरीको पुरस्कार प्रदान गर्दै आएकोमा यस महिना चौलागाई र राईलाई पुरस्कृत गरिएको प्रहरीले बताएको छ ।
प्रहरी निरिक्षक चौलागाईले असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको कार्यगत विवरण छ । उनले मिति २०८०।०३।०६ गते जिल्ला सुनसरी दुहवी नगरपालिका ५मा विशेष सूचनाको आधारमा भारतीय नागरिकहरु दिपेश यादव र अभिषेक यादवलाई ९ केजी गाँजा सहित पक्राउ गरेको, प्रहरी हिरासतमा मानव मस्तिष्क सहितको पुस्तकालयको स्थापना गर्नुका साथै विभिन्न मितिमा भन्सार छलि ल्याएको अवैध सामानहरु भन्सार कार्यालयमा बुझाएको बताइएको छ भने प्रहरी जवान आयुष राईले २०८०।०३।०४ गते जिल्ला खोटाङ रावा बेसी गाउँपालिका वडा नं ४ स्थित रावा खोलामा आएको बर्षातको बाढीमा रावा खोलाको वीचमा फसेका २ जना वर्ष २७ को युवराज रोक्का र बर्ष १६ को मदन मगरलाई आफ्नो ज्यान समेत जोखिममा राखी उद्दार गरेकोमा पुरस्कार प्रदान गरिएको बताइएको छ ।
पुरस्कृत चौलागाई इलाका प्रहरी कार्यालय दुहवी, सुनसरीमा कार्यरत छन् भने प्रहरी जवान राई प्रहरी चौकी हरमटार, खोटाङमा कार्यरत छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रत्येक महिना प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।