कस्ता व्यक्तिमा डेंगु संक्रमण भए जटिल समस्या देखिन सक्छ?

परिचयः डेंगु एक प्रकारको भाइरसबाट लाग्ने रोग हो। यो एडीस  प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ। यो प्रजातीका लामखुट्टेले डेंगु रोग भएको मानिसलाई  टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन्। र  स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ मानिसको शरीरमा प्रवेश गर्दछन्।  ३ देखि ७ दिन सम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखापर्न थाल्दछन्।

डेंगु सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। यो रोग सार्नको लागि  माध्यम लामखुट्टे नै हो। डेंगु  लामखुट्टेले संग्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तिब्र बनाउने गर्छ। त्यसैले डेंगु पानीपर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ। लगभग २० जना डेंगु प्रभावितमध्ये १ जना बिरामीलाई जटिल समस्या हुनसक्छ  र यो रोगको मृत्यु दर १ देखि २  प्रतिशत रहन्छ।

यो रोगले गर्भवती महिला, साना बच्चाहरु  र दोहोरिएर भएको डेंगु रोगमा जटिल समस्याहरु आउन सक्छ।

लक्षणहरु:
अत्यधिक ज्वरो आउनु  (१०२ डिग्री फरेनहाइड भन्दा माथि)
आँखाको वरीपरी ठिक पछाडीको भागमा अत्याधिक दुख्नु।
छालामा रातो डाबर वा धब्बा आउनु।
हड्डी दुख्नु।

यी माथिका लक्षणहरु मुख्य लक्षणहरु हुन् र यस्ता लक्षण देखा परेमा डेंगु रोग  भएको अनुमान गर्न सकिन्छ।

अन्य लक्षणहरु
वाकवाकी लाग्छ।
छटपटी हुन्छ।
बान्ता हुन्छ।
शरीरमा बिबिरा आउन सक्छ।
नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ।
यदि शरीरमा प्लेटलेटको मात्रा कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राव हुन सक्छ।
धेरै रक्तश्राव भएमा बिरामी बेहोस हुन्छ।
समयमा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ।

उपचार: 
-डेंगु भाइरसको कारणले गर्दा हुने रोग हो र विश्वमा अहिलेसम्म यस भाइरसलाई मार्ने औषधि बनेको छैन त्यसैले गर्दा यसमा लक्षण अनुसारको उपचार गर्नुपर्ने हुन्छ।
-ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने।
-ब्रुफिन र स्प्रिन जस्ता औषधिको प्रयोग नगर्ने  किनकी यस्ता औषधिको प्रयोगले रगत पातलो बनाइ धेरै रक्तश्राव हुने भएकाले  जोखिम बढ्न सक्छ।
-बिरामीलाई आराम गराउने।
-बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरु दिने।
-यदि बच्चा,  गर्भवती महिला र  पहिले एकपटक डेंगु भएको मानिसमा दोहोरिएर डेंगु भएमा तुरुन्त स्वास्थ्य  संस्थामा गएर जाँच गराउने।

-होमियोप्याथिक  उपचारपद्धती  अनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा  यो रोगमा होमियोप्याथिक उपचार लाभदायी देखिन्छ।
-वान्ता, चक्कर र छटपटी लागेर शरीर कमजोर भइ  बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने।
-शरीरमा पानीको मात्र कम हुने हुँदा एकदम झोलिलो खानेकुरा खाने।

सावधानी:
डेंगु सार्ने लामखुट्टे सफा जमेको र एकदम कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी संख्या बढाउने हुँदा पानी जम्न दिनु हुँदैन।

यो प्रजातीको लामखुट्टे उज्यालो समयमा बढी सक्रिय हुने हुँदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनु भन्दा अगाडी यसबाट बच्ने उपायहरु अपनाउनुपर्छ।

झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने।

गाउँ, टोल र  बस्तीहरु सफा राख्ने।

लामखुट्टेको टोकाईबाट बच्ने क्रिमहरु लगाउने।

लामखुट्टे भगाउने धुप बालेर सुत्ने।

विभिन्न चिकित्सा पद्दती अनुसार तितो चिराइतो, निमपती  मेवाको पात लगायतका औषधिहरु खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ। तर, नाडीको गती र रक्तचाप  कम भएको छ भने त्यस्तो बेलामा तितोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ यस्ता कुरामा चिकित्सकको सल्लाहमा मात्र यस्ता औषधिहरु सेवन गर्ने।

विभिन्न अनुसन्धानबाट प्राप्त जानकारी अनुसार फगिङ वा धुवा लगाएर  लामखुट्टे मार्ने पद्धतीबाट केही हदसम्म मरे पनि त्यसबाट सम्पूर्ण लार्भाहरु  नस्ट नहुने हुँदा यो विकल्प पनि अपुरो छ। त्यसै कारणले गर्दा  पानी जम्ने श्रोत  नस्ट  गर्नु नै  सबैभन्दा राम्रो विकल्प हुन सक्छ।

सरकारको दायित्व:
-जनचेतनाका कार्यक्रमहरु  गरी अभियानहरु चलाउने
– डेंगु चेक जाँचमा सहजता बनाउने।
-उपचारलाई सरल सहज र कम खर्चिलो बनाउने खालका योजना,  नीति र कार्यक्रमहरु ल्याउने।
-जोखिम क्षेत्रको  अध्ययन गरी क्षति कम गराउने खालका  योजनाहरु बनाउने।
-यस्तो महामारीमा विभिन्न स्वास्थ्य संस्थाहरुले आफूखुसी दर रेट बढाएर डेंगीको चेक जाँच गर्ने गरेको पाइएको हुँदा त्यस्ता प्रकारको अवैधानिक  कामको  नियन्त्रण गर्ने।
-त्रास फैलन नदिने तर सही समाचार सम्प्रेषण गर्ने।
-संचार क्षेत्रको सहयोग लिने।
-महामारीको समय भएको हुँदा निजि स्वास्थ्य संस्थालाई पनि सहुलियत दरमा उपचार गराउनको लागि आग्रह गर्ने।
-सबै संघसस्था र शिक्षकहरुलाई प्रतिनिधिमुलक  तालिम गराउने।
-डेंगु लागिसकेको मानिसलाई सुरक्षित र झुल भित्र राख्नुपर्छ, नत्र एडीस प्रजातीका लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्दा गाउँघर र शहर सबै ठाँउमा संक्रमण बढ्ने सम्भावना हुन्छ, त्यसैले लक्षित  परिवारलाई  झुल वितरण गर्ने  कार्यक्रम ल्याउने।

( लेखक इटहरीस्थित इन्खा एकीकृत अस्पतालका अध्यक्ष हुन्।)             

                                                                                                                          ( स्वास्थ्य खवरबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.