रामधुनी । सेवाको व्यावसाय हो स्वास्थ्य । बजारमा व्यावसायीक हिसावले थुप्रै स्वास्थ्य संस्थाहरु खुलेका छन् । खुलेका सबै स्वास्थ्य संस्था चलेकै पनि छन् तर चल्नु र सेवाको भावनाले व्यावसायमा होमिनु नितान्त फरक कुरा हुन । सेवासँगै व्यावसाय पनि निरन्तर हुन्छ नै तर त्यसमा निरन्तरताको जरुरी पर्छ । निरन्तरको मेहनतले सफल बनाउँछ भन्ने युक्तिको गतिलो उदाहरण हुन रामधुनीको झुम्काका मनिष गेलाल ।
२०५८ सालमा खोटाङ्ग को भगवती माविबाट एसएलसी सम्मको पढाई सक्दै गर्दा मनिषको पेसा खेती किसानीमा थियो । गोरुको पुच्छर समातेर खेतीमा रुमलिँदै गर्दा मनिषले न त आजको मेडिकल व्यावसायमा आउँछु भन्ने सोचेका थिए न त विदेश जाने र सरकारी जागिरको मोह नै थियो ।
तर समयले उनीलाई यस्तो मोडमा पुर्यायो जहाँ कुनै संयोग जुर्यो त कतै उनको मेहनत र परिश्रमले पनि उत्तिकै काम गर्यो । मनिषले एसएलसी सक्दै गर्दा उनको परिवारनै तत्कालिन भासि गाविसमा बसाई सरी आयो । अहिले रामधुनी नगरपालिका बनेको यो ठाउँमा पहिलेको तुलना गर्ने हो भने भौतिक विकासको निकै ठुलो फड्को छ । यहि ठाउँमा बसाई सरी आएका मनिषले त्यसपछि भासि माविमा पढ्दै संघर्षको थालनी गरे । झुम्काको भासि माविमा त्यतिवेलै प्लस टुको पढाई हुन्थ्यो ।
खोटाङ्ग कै दुर्गा प्रसाद फुयाल मनिषका दाजु हुन फुपूका छोरा । दुर्गाले झुम्का बजारमै युनानी मेडिकल हल सन्चालन गर्थे । दाजुसँगै मनिषले पनि त्यहि पसलमा काम सुरु गरे । विहान कलेज जाने अनि दिनभर दाजुसँगै मेडिकलमा काम गर्न थालेपछि मनिषलाई कामप्रति मोह जाग्न थाल्यो । फार्मेसी देखि लिएर ल्यावमा समेत काम जान्न थालेपछि मनिषले राजविराजको छिन्नमस्ता इन्स्टिच्युट अफ टेक्नोलोजीमा एचए अर्थात हेल्थ असिस्टेन्टको पढाई सुरु गरे । नभन्दै ३ बर्षमा उनले एचए सकाए, उनको मेहनत पनि बडो गज्जबको थियो । नियमित कक्षा लिन त पाएनन् तर झुम्कामा बसेरै बेला बेला गएर उनले हेल्थ असिस्टेन्टको परिक्षा उत्तिण गरे । अव काम अनुसारकै शिक्षा भएपछि झनै मेडिकल फिल्डमा भिजेर काम गर्ने हौसला मिल्यो लेखनाथलाई ।
दुर्गा र मनिषले साई मेडिकल हल नामको मेडिकलमा झण्डै दश बर्षको सहकार्य गरेका थिए । पछि मोरङ्ग सुनसरी सिंचाई आयोजनाले नहर छेउका घरहरु आफ्नो जग्गामा परको भन्दै भत्कायो । त्यसपछि उनीहरु पुर्व लाइन नेपाल बैकको पश्चिम पट्टि सरे ।
२०७२ सालबाट मनिषले आफ्नै मेडिकल सन्चालन गर्ने निधो गरे नि दुर्गासँगैका सहकार्य छुट्टियो । मनिषले पहिला त करिव ३ महिना नहरछेउमा रहेको ऊ शान्ती मेडिकल खरिद गरेर चलाए । पछि पुरानो ठाउँमै उनलाई व्यावसाय गर्ने मौका मिल्यो । मनिषले धार्मिक महत्वको स्थल रामधुनीको नामबाट रामधुनी मेडिकल हल सन्चालन गर्न थाले ।
आफैँ मालिक, आफैँ कामदार सुरुका दिन निकै चुनौतीपूर्ण थिए तर विस्तारै उनको सेवाको विस्तार हुँदै गयो । विस्तारै फार्मेसी सहित २ जना स्टाफ राखेर मेडिकलमा होमिएका मनिषसँग आज रामधुनी मेडिकल र रामधुनी डेन्टल समेत छ । अहिले रामधुनी मेडिकलमा दैनिक एमविविएस डाक्टरको सेवा सहित, साप्ताहिक रुपमा बिभिन्न रोगका विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् भने ल्याव, डिजिटल एक्सरे,भिडियो एक्सरे साथै फार्मेसी सेवा रामधुनी मेडिकलले दिइरहेको छ ।
आफ्नो क्षेत्रका विरामीका लागि स्थापनाकालदेखि नै गुणस्तरीय सेवा दिएका कारण पनि विश्वास कमाउन सफल भएको गेलाल बताउँछन् ।
आफ्नो व्यावसाय बाहेक लायन्स क्लव अफ रामधुनीको स्थापना कालदेखिकै सदस्य उनि झुम्का उद्योग वाणिज्य संघको वाणिज्य सचिव हुन भने सम्बोधन बचत तथा ऋण सहकारीको संचालक अध्यक्ष, रामधुनी बोर्डिङको सेयर होल्डर तथा इटहरीको एजुटेक कलेजको समेत सेयर होल्डर हुन ।
कसैले पनि एकै जोटी ठुलो स्थान तथा ठुलो भाग खोज्न नहुने भनाई राख्ने मनिष युवाहरुलाई यहि ठाउँमा बस्न प्रेरित गर्छन । घाँटी हेरी हाड निल्नु पर्छ भन्ने कहानलाई व्यवहारमा उतार्न अभिप्रेरित गर्ने उनि गरेदेखि हुने रहेछ भन्ने कुरामा विश्वास गर्छन । दाजुभाई सँग २ लाख मागेर पेशामा होमिएका मनिषलाई आज पछाडी फर्केर हेर्नुपरेको छैन । ‘म गर्छु भनेर कम्मर कसेपछि घरपरिवारको सहयोग भयो । सप्लायर्स हरुले पनि विश्वास गरे अहिले पेशामा सन्तुष्ट नै छु ।’मनिषले सुनाए ।
उनको सन्तुष्टिको अर्को कारण भनेको निरन्तरता पछिको सफलता नै हो । युवाहरु देशमा अवसर नदेखेर दैनिक रुपमा विदेशिएको घटनाले पनि उनलाई बेला बेला चिन्ता लगाउने रहेछ । ‘आखिर अवसर खोजेको भए उनीहरुले पनि पाउँथे तर त्यता तिर ध्यान दिने माहोल नै देखिदैन । ’ उनि भन्छन् ।