महंगो भ्याक्सिन रेफ्रिजेरेटर किनेको भन्दै रामधुनी नगरपालिकाको आलोचना, यस्तो रहेछ वास्तविकता

प्रकाश बन्जारा ।
रामधुनी । रामधुनी नगरपालिकाले खोपको लागि प्रयोग हुने भ्याक्सिन राख्नका लागि सस्तो रेफ्रिजेरेटर स्थानीयसँग हुँदा हुँदै महंगो खरिद गरेको भन्दै विगत केहि दिनदेखि चर्को आलोचना भएको छ ।

रामधुनीकै किरण चापागाईले आफूहरुसँग सस्तो रेफ्रिजेरेटर हुँदा हुँदै नगरले आफ्नो भन्दा ६० हजार बढीको रेफ्रिजेरेटर खरिद गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा चापागाईले हालेको पोष्ट व्यापक बन्दै गएपछि नगरप्रमुख उपप्रमुख सँगै स्वास्थ्य शाखाको चर्को आलोचना गरिएको छ ।

आफु गाद्रेज कम्पनीमा आवद्ध रहेको र आफुसँग रेफ्रिजेरेटर उपलव्ध हुने भन्दै चापागाई नगरपालिकाको स्वास्थ्य शाखामा पुगेको तर पछि स्वास्थ्य शाखाले रेफ्रिजेरेटर खरिद गर्नेबेलामा आफुसँग सोधपुछ नै नगरको बताएका छन् ।

यता स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले भने आफुले सार्वजनिक खरिद ऐन अनुरुप हायर कम्पनीको रेफ्रिजेरेटर खरिदको प्रक्रिया अघि बढाएको तर चापागाईले अर्कै कम्पनीको उपलव्ध गराउने कुरा भएकाले उहाँसँग सम्पर्क नगरिएको बताएका छन् ।

‘ छिमेकी केहि स्थानीय पालिकासँग भएका रेफ्रिजेरेटरहरु बुझ्यौँ उहाँहरुले हायरकै खरिद गर्नुभएको रहेछ हामीले हायरकै खरिद गर्ने भएपछि किरण जि हरुको कम्पनीसँग सम्पर्क गरेनौँ । ’पौडेलले वेष्ट सञ्चारसँग भने । मुल्य झण्डै ६० हजार महंगो भएको सन्दर्भमा पौडेलसँग प्रश्न गर्दा किरण चापागाईले आफुसँग भएको रेफ्रिजेरेटरको मुल्यको बिषयमा कुनै औपचारिक प्रस्ताव तथा मूल्यबारे कुरै नभएको जवाफ दिएका छन् ।

बेष्ट सञ्चारसँगको कुराकानीमा किरण चापागाईले पनि आफुले मुल्यको बारेमा पौडेलसँग पहिले कुनै कुराकानी नभएको स्पष्ट पारे । ‘मुल्यको बिषयमा कुरा भएन तर स्थानीय व्यवसायीसँग सामान हुँदा हुँदै अन्य कुनै ठाउँबाट झनै महंगो मुल्यमा सामान ल्याउँदा नगरले बढी भुक्तानी गर्न पर्यो भन्ने हो । ’चापागाईले सुनाए ।

आफ्नो कम्पनीसँग विश्व स्वास्थ्य संगठनले मान्यता दिएको रेफ्रिजेरेटर २ लाख २० हजार मूल्यबाट उपलव्ध हुने चापागाईको भनाई छ ।
यता नगरपालिकाले भने हायर कम्पनीको हायर आइस लाइन्ड भ्याक्सिन रेफ्रिजेरेटर एच भिसी ८० मोडलको ८० लिटर क्षमताको फ्रिज २ लाख ४९ हजारमा १३ प्रतिशत कर थप गरी २ लाख ८२ हजार ३८७ रूपैँयामा खरिद गरेको छ ।

नेपाल सरकारको खरिद ऐन अनुसार दरभाउ पत्र मार्फत आव्हान गर्दा इटहरीको जनहित ट्रेडर्स , विराटनगरको बहिभव लक्ष्मी र काठमाण्डौको मेरिगोल्ड इन्टरनेशनले सामान उपलव्ध गराउने भन्दै दरभाउ पेश गरेका थिए । जसमा वैभव लक्ष्मीले ३ लाख ३९ हजार र मेरीगोल्डले २ लाख २८ हजारको आशय व्यक्त गरेको थियो भने इटहरीको जनहित ट्रेडर्स ले २ लाख ४९ हजारको आशय व्यक्त गरेको थियो । खरिद ऐन अनुसार सबैभन्दा कम मुल्यको आशय व्यक्त गर्ने जनहितले कर सहित २ लाख ८२ हजार ३८७ रूपैँयामा सामान उपलव्ध गराएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताए ।

नगरपालिकाले असार १० गते कोटेशन लिएर असार १५ गते नै सामान ल्याई भासि स्वास्थ्य चौकीमा स्टोर गरेको छ । उक्त सम्बन्ध नगरपालिकाकी उपप्रमुख तारा थापालाई जिज्ञासा राख्दा स्वास्थ्य शाखाबाट खरिद गरिएको सामान खरिद ऐन अनुरुप भएको बताइन । सामाजिक संजालमा उक्त विषय आउनासाथ आफुले स्वास्थ्य शाखा प्रमुखसँग बुझेको बताउँदै थापाले सामानको ब्राण्ड र गुणस्तरको बिषयमा बुझेर नगरले के भएको हो त्यसबारे सार्वजनिक गर्ने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.