इटहरी । विवादित बनेर अनुसन्धानको घेरामा पुगेको घोराही सिमेन्टको साधारण सेयर पुन विक्रि खुल्ला हुने भएको छ ।
माग भन्दा बढी आवेदन पर्दा पनि म्याद थपेको भन्दै नेप्से र धितोपत्र बोर्डले तत्काल बन्द गर्दै छानविन प्रक्रिया अघि बढाएको घोराहीको सेयर पुन बिक्रि खुल्ला गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको छ ।
आइपीओ प्रकरण माथि अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाएसँगै बोर्ड उक्त निष्कर्ष निकालेको हो । धितोपत्र बोर्डले कम्पनीको आइपीओमा यसअघि आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने सम्मको व्यवस्था गरेको जनाएको छ ।
लगानीकर्ताहरुलाई सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी गरेर ३ दिनको समय दिने धितोपत्र बोर्डले जनाएको छ । साथै, आइपीओमा आवेदन दिनका लागि बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिने र उक्त समयमा सबै सेयर बिक्री नभएमा थप ७ दिन निष्कासन खुला राख्न सक्ने व्यवस्था गरेको छ ।
यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।
घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो । सीडीएसीको तथ्यांक अनुसार आइपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो ।जसअनुसार यस आइपीओमा करिब १० अर्ब ९९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ० बराबरको आवेदन परेको छ । जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ । ।