प्रकाश बन्जारा ।
छिन छिनमै मौसम फेरिरहने धनकुटा जिल्लाको भेडेटार स्थित ध्वजेडाँडा अव फ्लाग हिलको रुपमा समेत परिचित हुने भएको छ ।
धनकुटाको पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडाबजारस्थित ध्वजे डाँडामा सोमबार नेपालसहित २२ राष्ट्रका झण्डा फहराउँदै यसलाई फ्लागहिल समेत नामाकरण गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ध्वजेडाँडामा २२ वटा देशका झण्डा सोमबारदेखि राखिएको छ । ध्वजे डाँडालाई अब झण्डी डाँडा अर्थात फ्लाग हिल पनि भनेर पर्यटकहरुलाई आकर्षित गरिने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् । पर्यटन बोर्ड, गाउँपालिका र स्थानीयको सहभागितामा ६ लाख ३३ हजार १०४ रुपैयामा झण्डा राखिएको हो । उक्त झण्डाहरुको आइतबार गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राईसहित पर्यटन व्यवसायी, स्थानीय समाजसेवी, पत्रकारहरुले संयुक्तरुपमा झण्डोत्तलन गरेका थिए ।
गाउँपालिका अध्यक्ष राईले साँगुरीगढीमा घुम्न आउने पर्यटकहरुलाई नयाँ गन्तव्य र आकर्षण आवश्यक भएकोले ध्वजे डाँडालाई थप प्रर्वद्धन गर्न विभिन्न मित्र राष्ट्रको झण्डाहरु राखिएको बताए ।
उनले पर्यटन विकासको लागि खुवालुङ त्रिवेणीदेखि ध्वजे डाँडासम्म पदयात्राको सम्भाव्यता अध्ययन भइसकेको पनि जानकारी दिदै भेडेटार, नाम्जे घुम्न आउने विदेशी पर्यटकहरुलाई ध्वजे डाँडामा आफ्नो राष्ट्रको झण्डा मुनि फोटो खिच्न, सेल्फी खिच्न पठाउन सकिने र थप एक रात बास लम्ब्याउन सकिने बताए ।
मौषम खुलेको बेला बिहानै सुर्योदयको मनोरम दृष्यट, तराईका फाँटहरु, हिम श्रृंखला र प्राकृतिक सौन्दर्यको दृष्यावलोकन गर्ने उत्कृष्ट गन्तव्य ध्वजे डाँडा पर्यटकको लागि एकदमै मनपराइएको ठाउँ हो ।