इटहरी । इटहरी उपमहानगरभित्र चल्ने सिटी सफारीको दर्ता शुल्क घट्ने भएको छ ।
बुधबार ४ वटा संगठनका सिटी सफारी चालकहरु सम्मिलित भेलाले नगरप्रमुख हेमकर्ण पौडेल सँगको छलफलमा ई रिक्सा कार्यविधि अनुसार दर्ता गरी चलाउन पाउने नियम बनाएपछि सफारी चालकहरु समेत खुशी भएका छन् ।
अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार दर्ता तथा नविकरण शुल्क घटाएपछि नीति अनुसार चल्न सिटि सफारी चालकहरु राजी भएका हुन । प्रदेश सरकारले ई–रिक्सा व्यवस्थापन नगरहरूले आफैले व्यवस्थित गर्न अनुमति दिएपछि इटहरी उपमहानगर कार्यविधि बनाएको थियो तथापि दर्ता तथा नवीकरणमा बिमा अनिवार्य गरिएपछि चालकहरु आन्दोलित हुँदै आइरहेका थिए ।

बुधबारको भेला पछि ४ हजार ३ सय रहेको दर्ता शुल्क २५ सयमा झारेपछि सफारी चालकहरु खुसी भएका हुन । स्वतन्त्र सिटी सफारी संगठनका प्रदिप तामाङ्ग ले लाइसेन्स नभएका सफारी चालकहरुको बीमा अनिवार्य गरिँदा समस्या भएकोमा अव भने त्यो समस्या नहरेको बताए ।
यस अघि पारित भएको सरसफाइ तथा पार्किङ शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई–रिक्सा दर्ता शुल्क रु १४०० लाई घटाएर रु ११०० कायम गर्ने, बाटो इजाजत पत्र शुल्क रु.१५०० लाई घटाएर रु.१२०० कायम गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।
यसबाहेक कार्यविधिमा भएका अनुसूची–१ बमोजिम लाग्ने अन्य शुल्क यथावत् लाग्ने उपमहानगरले जनाएको छ । बढी शुल्क राखिएको भन्दै विरोधमा उत्रिएका सफारी चालकहरू शुल्क घटाए सँगै सहमतिमा आएका हुन ।
इटहरीको मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ। जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

