घर छोड्ने रात

प्रकाश बन्जरा ।

परदेश जानु पर्ने बाध्यताको सामना गर्दा, घरको माया र आफ्नो कर्तव्य बीचको द्वन्द्वले मनलाई हलचलमा पार्यो। एक महिनाको छुट्टि, कति चाँडै बित्यो, थाहा पनि पाइएन। समयले मलाई धेरै थकाएको थियो कि कामको भार पनि त्यतिकै थियो। प्रायः कामहरू भोली गरौँला भन्दै स्थगित भइरहेका थिए, जसका कारण अन्तिम दिनमा थुप्रै काम बाँकी रहिरहेका थिए त्यो मेरो मात्रै नभएर अरुको पनि यस्तै नियति होला भन्ने मलाई लाग्छ त्यसैले पनि अन्तिम दिन भने निकै व्यस्त बित्यो।

कम्पनीको नवीकरणको कामका लागि र मामा मनोरथ फुयाल र डिल्लीराम भण्डारी सरसँग सम्पर्क गर्न इटहरी जानु परेको थियो। नविन ओझा सरसँग रमाइलो भेटघाट पनि भयो। आर वि कटवाल सरसँगको छोटो भेट पछि निकै साँझ घर फर्किएँ । घर फर्किएपछि भने सामानहरू अस्तव्यस्त थिए।
छुट्टीमा गएर फर्किंदा प्रिय जनहरूले दिएका र परदेशसम्म पुग्नुपर्ने कोसेलीहरूले झोलामा ठाउँ खोज्दै थिए।

घर फर्केर झोला मिलाउने काम सुरु गरेँ। चिसो महिना हुस्सुका कारण तराईका जिल्लामा हुने उडानको प्रभावले गर्दा यसपटक गाडीबाट काठमाण्डौ जाने योजना बनाएको थिएँ।
छिमेकी भाई रसिल अधिकारीलाई पनि मसँगै जानको लागि अनुरोध गरेँ रसिल पेशाले बैंकर हुन । १० दिनको छुट्टीमा परिवार भेट्न आएका रसिल म सँगै गफिँदै काठमाण्डौ आउन तयार भए र हामीले हायसबाट काठमाण्डौको यात्रा तय गर्‍यौं।

घरबाट निस्कने दिन नजिकिँदै गर्दा, श्रीमती ज्वरो र रुघाबाट पीडित थिइन। परिवार छोडेर परदेशीनु कत्ति नरमाइलो हुन्छ भन्ने त यहाँ खुलाइरहनु परेन । उता बुबा ममी भएतिर पनि हजुरआमा निकै बिरामी हुनुहुन्थ्यो । कान्छो भाई अघिल्लो दिनमात्रै आफ्नो कार्य थलो तेह्रथुम तिर फर्केको थियो भने साइँलो भाई दिपक कार्य थलो गएको झण्डै हप्ता दिनमात्रै भएको थियो ।

तमाम समस्याको बिच आफु फेरी विदेसिनु नै थियो । घरका समस्या, बालबच्चाको पढाई, उनीहरुको सुन्दर भविश्यको कल्पनासँगै दैनिक जिवन टार्न बढिरहेको महँगीसँग जुध्ने मेरो शक्ति थिएन देशमा बसेर ।

साँझ खाना आनु अघि झोला मिलाउन लागे । काठमाण्डौ ल्याउने र युएइसम्म जानुपर्ने सामान छुट्टाएर राख्न थालें। खानपिन गरेर विस्तारै विस्तारामा लडेँ , तर निद्राले मलाई समात्नै सकेकै थिएन । जीवनका संघर्ष र स्मृतिहरू मनमा खेल्न थाले। छोरीका मीठा शब्द र छोरा कोमल बोलीले मनलाई ढोक्न थाले।
जिन्दगीका संघर्षहरूको सामना गर्दै यो स्थानसम्म आइपुगेको छु । यो समय मेरो लागि देशमा केही गर्ने अवस्था छैन। देशका धेरै नागरिकहरूले यहाँ अवसर देखेका छन्, तर मैले कहिल्यै त्यस्तो अवसर महसुस गरेको छैन। सरकारी जागिर खानेहरूले पनि गुनासो गरेका भेट्छु , भने निजी क्षेत्रका कामदार र व्यावसायिक व्यक्तिहरू पनि गाह्रो भइरहेको बताउँछन्। केहीले तलव नपाएको गुनासो गर्छन् भने केहीले समयमा नपाएको, थोरै भएको र बचत नभएको भन्छन्। प्रत्येक व्यक्तिको आफ्नै दृष्टिकोण र विश्लेषण छ। व्यापारीहरु व्यापार नचलेको गुनासो गर्छन ।

केहि राम्रो जागिर खाने साथीहरू पनि मलाई पनि उतै बोलाउ न यार भन्छन् , अव यति हुँदा हुँदा मैले देशमा अवसर खोज्न कसरी सकूँ । त्यसैले मैले देशमा बस्नको लागि हिम्मत आएकै छैन। देशमा इमान्दारहरूको लागि ठाउँ छैन। म आफूलाई इमान्दार ठान्दछु, तर याँ पनि रामै जिन्दगीविताइरहेका साथीहरु बारेमा सोच्दा शंका उत्पन्न हुन्छ—उनीहरु कसरी टिकाला छन् भनेर ।

घर छोड्ने रात बुबा, आमा, हजुरआमाको माया र परिवार सबै सम्झना आयो। सबैलाई सम्झिँदा परदेश जानै पर्छ जस्तो लाग्यो। मायाले मात्र संसारलाई धान्न सक्दैन भन्ने उखान सोच्दै, विस्तारै आफुलाई काबुमा राख्ने प्रयास गरेँ।
आखा बन्द गर्दै सोच्दा रातको १२ बजेको थियो। श्रीमती पनि जागै थिइन। आँखा खोल्दै चिम्लिँदै ४ बजेको अलार्मले निन्द्रालाई भंग गर्‍यो। उडेर नुहाइ धुवाइ गरेँ, कपडा मिलाएँ। श्रीमती उठिसकेकी थिइन्, छोरी पनि उठिन । प्यारीले बनाएको चियामा सातु डुबाएर भान गरेपछि यात्रा गर्न तयार भएँ। रमेश अंकलले गाडी चोकमा आइपुगेको बताउनु भयो।

छिमेकी रमेश सुवेदी दाइलाई सफारीमा चोक पुर्याउन आग्रह गरेँ, उहाँ पनि उठेर आउनु भयो। घरबाट हिड्न तयार भएपनि, श्रीमतीले छोरोको हात फुक्न आग्रह गरिन।
मस्त निन्द्रामा रहेको छोरोको कोमल हात समात्दा, उसको निर्दोष अनुहारले मेरो मनलाई भारी बनायो। छोरोको कोमल हातको स्पर्शले मन थिचिएको थियो, तर यात्रा गर्ने समय आएको थियो। भक्कानो फुटेर आयो , आशुहरु तल झर्न लडाई गर्न लागे तर मैले आफुलाई बुझाउँदै भने, यो सबै मैले गर्नै हुदैन । आफुलाई कठोर बनाउन प्रयत्न गरेँ ।

नियतिको यो खेल थियो—विदेशीनु रहर नभएर बाध्यता थियो र म पनि भावुक भएर रोएँ भने घर बस्ने श्रीमतीको के हालत होला भनेर सोचेँ । हिड्ने बेलामा छोरी र श्रीमतीसँग बोलौँला भन्दै थिएँ तर आवाज निस्किएनन् बरु आसुँ निस्कने तरखर गर्न थालेँ मनलाई भारी बनाउदै झोला बोकेर तल झरेँ अनि हात हल्लाएर विदा लिएँ। शब्दहरु केही आएनन्  ।  यो यात्रा मेरो लागि नयाँ मञ्जिल खोज्ने पहिलो कदम त होइन तर म सारै कमजोर भएको भने यो पहिलो पटक हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.