प्रकाश बन्जरा । युएई ।
पढाई किताबी ज्ञान हो । अध्ययन , अनुभव, सिप र कुनै पनि बिषयमा पोख्त भएपछि व्यक्ति विस्तारै परिपक्क हुँदै जान्छ । अनुभव र सिप भन्दा पहिलो खुड्किलो भनेको एकेडेमिक ज्ञान अर्थात डिग्री हो । डिग्री विना पनि अनुभवको आधारमा कतिपयले उपल्लो खुड्किलो चढेको देखिन्छ तर उनीहरु कुनै न कुनै हिसाबमा आफुसँग गुनासो गरिरहन्छन् जुन पढाई अर्थात एकेडेमिक क्षमता नभएको गुनासो जिन्दगी भरी मेटिन गाह्रो हुन्छ । तर कम्वाइनेसन दुवै कुराको हुन जरुरी छ न त युनिभर्सिटी डिग्रीले मात्रै केहि हुन्छ न त पढाई विनाको अनुभव र सीपले कुनै ठाउँमा टिकाइराख्न अथवा भर्यागं चढ्न दिन्छ त्यसो हुनाले दुवै कुराको कम्वाइनेसन महत्वपुर्ण मानिन्छ ।
सिप र क्षमता विनाको शिक्षा पनि काम लाग्दैन त्यहि भएर पनि म के हुँ भन्ने खुट्याउन नसक्दा हाम्रा कतिपय साथीहरु ब्यागमा व्याचर र मास्टर डिग्रीको प्रमाणपत्र राखेर दुवई कतार मलेसिया लगायतका देशमा सामान्य नन् स्किल काम गरिरहेका छन् । यति भनिरहँदा पढाई गरेर पनि नन् स्किल जव मात्रै भन्ने प्रश्न आउन सक्छ त्यो स्वभाविक हो अव पढाई नहुने हो भने त्यो नन् स्किल जव पनि पाइदैन ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका बस्ने पुष्प भट्टराई सरले शिक्षा र बैदेशिक रोजगारी सम्बन्नधमा लेख्न भनेर अनुरोध गर्नुभयो ।उहाँको भनाई सान्दर्भिक छ । पछिल्लो समयमा म अहिले बसेर काम गरिरहेको देश सयुक्त अरव ईमिरेट्स युएईमा पनि न त अव्वल शिक्षा न त आफसँग सिप त्यक्तिकै काम पाइने आशामा भिजिट भिषामा आएर अलपत्र पर्ने नेपालीको निकै ठुलो भिड छ । त्यो भिडलाई कसरी नियन्त्रण गर्ने हो त्यसको जवाफ न त तपाई हामीसँग छ न त राज्य सत्तासँगै । मलाई पनि आफ्नो अनुभव मिश्रीत कुरा राख्न मन लाग्यो र कार्यव्यस्तताकै बिच यहाँ यसरी पोखिएँ ।
कुनै समय आफुसँग टन्न समय र उमेर हुँदा प्रवीणता प्रमाणपत्र तहको पढाई सकेर बैदेशिक रोजगारीको लागि भासिएको म समयको मागलाई सम्बोधन गर्दै अहिले डिस्टान्स लर्निगं अर्थात अनलाइनको माध्यमबाट ब्याचलर डिग्री गर्दै छु । आईए सकाएको १९ बर्ष पछाडी अर्को तहको पढाई किन चाहियो होला त्यो यो लेख पढ्दै गरेको तपाईलाई पनि जिज्ञासा लाग्न सक्छ । तर सामान्य अर्थमा भन्नु पर्दा आफुलाई अपग्रेड गराउन नै हो । अवको समयमा तपाईसँग सिप र क्षमता मात्रै भएर सबै ठाउँमा विक्नुहुन्छ भन्ने रहन छाड्यो ।
विकेपनि तपाई अरुको नजरमा हेपिनुपर्छ , पेलिनुपर्छ र एकै शब्दमा भन्नुपर्दा अव ब्याचलर डिग्री भन्दा तलको पढाइले तपाईको अवसरका ढोकाहरु नै भेट्नुहुन्न जहाँबाट छिरेर तपाई आफ्नो क्यारियर बनाउनुहोस् त्यसैले पनि शिक्षाको महत्व अवको वैदेशिक रोजगारीमा निकै छ ।
पढ्नु भनेको सिक्नु हो । हाम्रो शिक्षामा व्यवहारिक ज्ञान नसमेटिँदा हामीले किताबी ज्ञान र केहि सामान्य ज्ञान सिक्छौँ , शिक्षाले मान्छेलाई सिस्टाचार सिकाउँछ । इतिहास सिकाउँछ । भुत र वर्तमान सिकाउँछ अनि परिवर्तन सिकाउँछ । यी सबै कुरा हामीले सिकेनौ भने हामी को सँग कसरी वार्तालाप गर्ने भन्ने जान्दैनौँ , हामी कसलाई सम्मान गर्ने अनि कसरी सम्मान व्यक्त गर्न सकिन्छ भन्ने बिषयमा अनविज्ञ रहन्छौं त्यसै भएर पनि शिक्षाको आवश्यता महशुस गरिन्छ ।
रोजगार दाता कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने कामदार शिक्षित होस भन्ने चाहान्छ । रोजगार दाताले आफुसँग काम गर्ने कामदारले कामको प्रकृती बुझोस् अनि ग्राहकको चाहाना अनुसार सेवा प्रदान गरोस भन्ने चाहान्छ त्यसैले पनि रोजगारीको लागि शिक्षाको आवश्यकता बढी हुन्छ ।
समय बदलियो बदलिएको समयसँगै शिक्षाको माग पनि उत्तिकै बढ्दै भयो । एउटा पाले अर्थात चौकीदारको काम गर्न पहिला ढोकामा उभिन सक्ने भए हुन्छ भनिन्थ्यो अहिले प्रविधिको प्रयोग र आगमन सँगै ढोकामा बस्ने पाले अर्थात चौकीदारले अव्वल कम्युनिकेसन र कम्प्युटरको ज्ञान अनिवार्य हुने समय आयो त्यसैले पनि अवको समयमा शिक्षाको महत्व बढेको छ ।
छिमेकी अर्थात विदेशकी राष्ट को तुलनामा हामी शिक्षामा कमजोर छौँ दुवई कतार , मलेसिया, कुवेत , ओमान जस्ता खाडी देशमा अव्वल र प्राविधिक शिक्षा लिएर आएका हुनाले धेरै भारतीय कामदारहरु माथिल्लो पोजिसन मा पुगेका छन् । प्राविधिक ज्ञान भएको हुनाले चाइनिज हरु धेरै प्रविधिका बाहेकको काम गर्दैनन् । प्राविधिक शिक्षाको सहजीकरण नहुँदा अर्थात सकेसम्म पढ्नै अल्छी गर्ने अनि पढिहाले पनि प्राविधिक सिप नलिने हुँदा अझै पनि खाडीमा धेरै नेपाली कामदारहरु माथिल्लो पोजिसन मा पुग्न सकेका छैनन् यति भनिरहँदा थुप्रै माथिल्लो पदमा पुगेका नेपालीहरु पनि छन् जो धेरैका लागि प्रेरणा हुन ।
उनिहरुलाई हेरेर सकेसम्म आफ्नो पढाई सकेर नेपालमा अवसर खोज्ने अनि अबसर नपाएको खण्डमा मात्रै बैदेशिक रोजगारी ताक्ने गर्नु उत्कृष्ट हुन्छ । खाडी मुलुकमै बसेको झण्डै १४ बर्षको आफ्नै अनुभवले पनि न्युनतम ब्याचलर डिग्री, अनि आफु जान चाहेको देशको भाषा अथवा अन्तरराष्ट्रिय भाषाको रुपमा चिनिएको अंग्रेजी भाषामा दख्खल भएर आफ्नो फिल्ड अथवा सिप अनुसारको काममा नेपाल सरकारबाट मान्यता पाएर बैदेशिक रोजगारीको लागि सहजीकरण गरिरहेका म्यानपावर कम्पनीहरुका माध्यमबाट मात्रै बैदेशिक रोजगारीमा आउन मेरो आग्रह छ । अहिले बिभिन्न आश्वासन देखाएर भिजिट भिषामा विदेश जान र त्यहाँ काम खोजेर गर्न उच्काउनेहरु पनि थुप्रै छन् त्यसो हुनाले उनीहरुसँग समेत बच्नु पर्दछ ।