इटहरी । इटहरीलाई कार्य थलो बनाएर तीन पांग्रे सिटी सफारी चलाइरहेका सफारी चालकहरुको सयुक्त भेला उद्योग वाणिज्य संघ इटहरीको हलमा सोमबार सम्पन्न भएको छ ।
सात वटा सिटी सफारीका घटकहरूको सयुक्त भेलाले इटहरीको स्थानीय सरकारले सिटी सफारीको व्यवस्थापनमा चासो नदेखाएको भन्दै भदौ १ गते सम्ममा सिटी सफारी चालकहरुको सर्वपक्षीय भेला बोलाएर सिटी सफारीका तमाम समस्याको समाधान गर्न आग्रह गरेको छ ।
ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ज्योति कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो काम छाडेर अढाई सय भन्दा बढी सिटी सफारी चालकहरु उद्योग वाणिज्य संघको सभाहलमा जम्मा भएका थिए ।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सयुक्त सिटी सफारी चालक संघका संयोजक कुमार तामाङ्गले अहिले संघर्ष समितिको रुपमा नहेरिए पनि उपमहानगरले सिटी रिक्सा व्यवस्थापनमा चासो नदेखाएको खण्डमा संघर्ष समितिको रुपमा आफुहरु खडा हुने भनाई राखे ।
आफुहरु पनि सुन्दर सहर र व्यवस्थित बजारको पक्षमा रहेकाले यसको व्यवस्थापनमा उपमहानगर चुकेको भन्दै भदौ १ गते सम्म सर्वपक्षीय सिटी सफारी चालकहरुको भेला राखी इटहरी उपमहानगरका प्रमुख हेम कर्ण पौडेलले आफुहरुको समस्याको सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा मजदुर नेतृ संगीता कार्कीले अहिले सम्म मजदुरहरुले गरेको आन्दोलन असफल भएको भन्दै अहिले आफैँ कमाएर खाने मजदुरहरुले गरेको आन्दोलन सफल हुने बताइन ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले ई रिक्सा चालकहरुको माग जायज भएको भन्दै मजदुरहरुले गरेको बीमा पानीका बगिरहेको बताउँदै त्यसको समाधानमा इटहरी सरकार र सम्बन्धित निकाय गम्भिर नभएको बताए ।
कार्यक्रममा जनता समाजवादी इटहरीका अध्यक्ष, नेकपा माओवादी केन्द्रका इटहरी अध्यक्ष बहादुर सिंह तामाङ्ग, नागरिक समाज इटहरीकी अध्यक्ष कमला खड्का लगायतका इ रिक्साले नागरिकलाई सुलभ सेवा दिएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा इटहरीका ६ वटा वडाका अध्यक्षहरुलाई निमन्त्रण गरिएको भएता पनि उनिहरुको उपस्थिती नभएको आयोजकले जानकारी दिएका छन् । कुमार तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अथितीको रुपमा नेपाल यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष कमल कुमार राई उपस्थित थिए ।
कार्यक्रममा नेपाल सार्वजनिक यातायात व्यावसायी संघका रमेश खत्रीले समेत आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रम प्रदिप तामाङ्गले सञ्चालन गरेका थिए ।