प्रकाश बन्जारा ।
पछिल्लो समय इटहरीको एकमात्रै सरकारी अस्पताल इटहरी अस्पतालमा सेवा विस्तार पछि इटहरीबासिलाई निकै राहत मिलेको छ ।
एक बर्ष पहिले सम्म रेफर अस्पतालको रुपमा रहेको स्वास्थ्य संस्थालाई एक हिसावले भन्ने हो भने मेयर हेमकर्ण पौडेलको उपस्थितिले निकै सुधार गरेको भान हुन्छ ।
एउटा रेफर को कागज लिन बिहान देखि कम्तीमा ४ घण्टा देखि दिन सम्मै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै पौडेलले इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरको व्यावस्थामात्रै गरेनन् बरु अस्पताललाई नै नयाँ रुप दिने गरी टोकल सिस्टम समेत सुरु गरे ।
मेयर पौडेलले गरेको अर्को राम्रो काम स्वास्थ्य बिमाको सेवालाई विकेन्द्रीकरण हो तर इटहरी अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिमाको रेफर लिने झन्झट अहिले छैन भएपनि ठुला हस्पिटलमा बिमा सेवा रद्ध भएपछि बिमाबाट सेवा लिने सेवाग्राही समेत घटेका छन् । केहि दीर्घ रोगीलाई रेफर लिनै परे सहजिकरण गरिएको छ त्यो राम्रो पक्ष हो ।
यता सेवाग्राहीको भिड लाग्ने इटहरी अस्पतालमा कर्मचारीको अभाव थियो दैनिक ज्यालादारीका नाममा कर्मचारी भती गरेर भएपनि पौडेलले त्यो अभाव पूर्ति गरे तर एउटा उपमहानगरमा भारी कर तिरेर उच्च शिक्षा अध्ययन गर्दै रोजगारीको आशा गरेको युवाले भने त्यो कर्मचारी भर्तीमा आफ्नो उपस्थिती जनाउन कहिल्यै सकेन हुन त केहि प्राविधिक कर्मचारीहरु प्रक्रियाबाटै छनौट गरिएका छन् तर कार्यलय सहयोगी तथा अन्य पदमा गरिने कर्मचारी भर्ती भने दैनिक ज्याला दारीको नाममा ठाडो आदेश नै चल्ने गरेको छ । त्यो द्वारिकलाल चौधरीको पालामा पनि थियो र अहिले पनि छ । कुनै समय निकै बहसको बिषय बनेको ठाडो आदेशको दैनिक ज्यालादारी कर्मचारीको भर्ति अहिले भने चर्चा लिन छाडेको छ यदा कदा बाहेक ।
यद्यपि मेयर पौडेल अस्पताल चलाउन आवश्यक पर्ने केहि ज्यालादारी जनशक्ति प्रक्रियामा जान समय लाग्ने भएको हुँदा विपन्नता हेरेर आफैँले नियुक्ति गरेको र अहिले परिवार चलाउन उनिहरुलाई सहज भएको स्वीकार गर्छन ।
इटहरी अस्पतालको संरक्षणमा अभिभावकको भुमिका निर्वाह गरिरहेको पौडेल अस्पतालको निरिक्षण र नियमनमा बाक्लै जान्छन् । कुनै बेला बिरामीलाई भट्छन् त कुनै बेला कर्मचारीलाई । जुन सुकै बेला मेयरको उपस्थिती हुने हुँदा कर्मचारीहरुले सेवा प्रवाहमा लापरबाही गर्न भने नपाएको बुझिन्छ ।
यता केहि समय अघि मेयर पौडेलले अस्पतालको नियमन गर्न जाँदै गर्दाको एउटा भिडियो हेर्ने मौका पङ्क्तिकारलाई मिलेको थियो । जसमा उनि अस्पतालमा फर्निचर अभाव भएको भन्दै फोनमा तुरुन्त फर्निचर उपलव्ध गराउन अर्डर दिन्छन् ।
फोनमा मेयरको अर्डर आएपछि त्यहि दिन साँझ हस्पिटलमा नयाँ केहि थान बस्ने फर्निचरहरू आउँछन् । ती फर्निचरको तश्विर पनि पोष्ट हुन्छन् सामाजिक संञ्जालमा तर मेयरले फोन गरेर अर्डर गर्नासाथ फर्निचर कसरी उपलव्ध भए, के सरकारी कार्यालयले बिना प्रक्रिया तत्काल आदेश दिएको भरमा कसरी खरिद हुन्छ ।
केहि ले सामाजिक संजालमा मेयरले गरेको आदेश र तत्काल आएका फर्निचर बारे चर्चा समेत गर्न भ्याए यसको चुरो कुरा के हो भनेर पंत्तिकारले अस्पतालका प्रशासन प्रमुख दामोदर गौतम र स्टोर हेर्ने एकराज तिवारीसँग बुझ्ने मौका पायो ।
नगरपालिकासँग भएको टेण्डर अनुसार कोहि सप्लायर्स ले अस्पतालमा फर्निचरको व्यवस्था गर्यो तर कहाँबाट आयो कति मुल्यको आयो भन्ने रेकर्ड अस्पतालमा छैन त्यो सिधै नगरपालिकाको जिन्सी शाखाले हेर्ने गर्दछ र खरिद पनि उसैले गर्ने गर्दछ ।
नगरपालिकाले गरेको बार्षिक टेण्डर अनुसार नगरपालिकाकै जिन्सी शाखाबाट दाखिला गरेर आउने प्रशासन प्रमुख दामोदर गौतम बताउँछन् ।यता जिन्सी शाखा प्रमुख डम्बर बहादुर कार्कीले भने हस्पिटलको कारोबार हस्पिटलबाटै हुने बेष्ट सञ्चारलाई सुनाए । टेण्डर लगायतका प्रक्रियाहरूको लागि खरिद शाखाले सहजिकरण गर्ने भएपनि अन्य कारोबार हस्पिटलबाटै हुने कार्कीको भनाई थियो ।
मेयर पौडेलको ठाडो आदेशबाट आएको फर्निचरहरू कहाँबाट कसरी ल्याइएर कसरी भुक्तानी गरिए भन्नेबारे आफुलाई जानकारी नभएको जिन्सी शाखा प्रमुख कार्की बताउँछन् ।
चालु आर्थिक बर्षबाट लानुहुने गरी आर्थिक ऐन मार्फत नगरले भारी मात्राका करको वृद्धि गरेको छ । करको वृद्धिसँगै जनताले तिरेको कर कसरी सदुपयोग भइरहेको छ भनेर खबरदारी गर्नु पनि जनताको दायित्व हो अव सरकारी पारदर्शिता कायम गर्न निर्माण गरेको खरिद ऐनलाई नटेकि सामान खरिद भयो भने त्यहाँ पारदर्शिता छैन भन्ने बुझिन्छ ।
यस कारण पनि अनुगमन त मेयरले गर्नु छँदै छ अनुगमनसँगै यस्ता कुरामा ऐन नियमलाई टेकेर निर्देशन दिने गर्न सके विश्वसनीयता बढ्दै जाला ।