प्रकाश बन्जरा ।
हाम्रो समाजको इतिहासमा गाउँको विशेष स्थान रहेको छ। हाम्रो जरा, संस्कृति र परम्परा गाउँसँग जोडिएका छन्। एक समयमा गाउँका प्रत्येक घरमा अन्न बाली, साग सब्जी, फलफूल सबै स्थानीय रुपमा उत्पादन हुने गर्थे। यसका साथै, गाउँलाई एक सुन्दर र हर्षित स्थलको रूपमा हेरिन्छ, जहाँ खेतीपाती र प्राकृतिक संसाधनको भरपूर उपयोग गरिन्थ्यो। तर, अहिले गाउँ सुनसान भएका छन् । फलस्वरुप जमिन रुखो भएका छन् भने जनसख्यामा आएको गिरावटले जंगली जवानवर वादरहरु गाउँसम्म फैलिएका छन् ।
यसका पछाडि धेरै कारणहरू छन्, जसमध्ये प्रमुख कारण रोजगारको अभाव र सेवा सुविधाको अभाव हो। गाउँमा रोजगार सिर्जना गर्न स्थानीय सरकारमात्रै होइन केन्द्रिय सरकारसम्मको पहल चाहिन्छ । हरेक क्षेत्रको अवस्था र त्याहाँको माटोमा के उव्जाउन सकिन्छ भनेर अध्ययन गरी पकेट क्षेत्रको रुपमा घोषणा गरेर कृषि कर्ममा स्थानीयलाई लगाउन सक्नेहो भने जडिबुटी, फलफुल लगायत थुप्रै नगदेबालीहरु गाउँले दिन सक्छ र शहरको आवश्यकतालाई गाउँले सम्बोधन गर्न सक्छ । एक जमाना थियो शहरलाई चाहिने आवश्यकता गाउँले पुरा गथ्र्यो अनि गाउँलाई चाहिने लुगा कपडा, नुन तेल शहरले दिन्थ्यो अहिले सबैको लागि शहर र विदेश नै ताक्नुपर्ने अवस्था छ । एकादुई गाउँमा छन् तर धेरैले गाउँछोडी सके आज जुन आवश्यकताले गाउँ छोडिएको थियो ती धेरै कुरा गाउँमा आए । उदाहरणको लागि धेरै ठाउँमा बिजुली आयो, मटितेल बोक्नुपर्ने अवस्था हट्यो , धेरै ठाउँमा बाटो बन्यो गाडी चल्यो नुन बोक्नुपर्ने बाध्यता हट्यो ।
ठुला ठुला स्वास्थ्य चौकी पनि बनेका छन् तर स्वास्थ्य कर्मी छैनन् । सरकारी विद्यालय छन् विद्यार्थी छैनन् , विद्यालयको भवन बरु पक्कि बनेको छ । त्यो पक्कि भवन बनाउन चहलपहल गर्नेले कमाउन पनि राम्रै कमाएको छ तर प्रश्न सोध्ने बुद्धिजिवी बर्ग र युवा गाउँमा छैनन् ।
वर्तमान समयमा, हाम्रो गाउँमा ९० प्रतिशत जग्गा बाँझै रहेको छ। खेतीको पद्धतिमा परिवर्तन, कम मोल र उच्च खर्चका कारण धेरै किसानहरू खेती गर्न इच्छुक छैनन्। यसले गर्दा गाउँका उत्पादनयोग्य जमिन अन्न, बाली, साग, सब्जी उत्पादनका लागि काम नलागी बिस्कट भएका छन्। र, यही समस्याले गर्दा आज गाउँ खाली र सुस्त अवस्थामा पुगेका छन्।
तर हालका केहि सकारात्मक प्रयासहरूले यो स्थितिलाई परिवर्तन गर्न सक्ने आशा जागाएको छ। उदाहरणको लागि, खोटागंको बराहापोखरी गाउँपालिकाले पालिकाभित्र बसाई सरी आउनेलाई १ लाख रुपैँयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। यसले स्पष्ट देखाउँछ कि गाउँहरू अहिले बाहिरका जनतालाई आफ्नो तर्फ आकर्षित गर्न नयाँ उपायहरू अपनाइरहेका छन्। यो प्रयास गाउँको पुनःनिर्माण र हराभरा बनाउन एक सकारात्मक कदम हो। यदि यस्तो पहल अन्य गाउँपालिका र नगरपालिकाहरूले पनि गर्ने हो भने, नेपालका ग्रामीण क्षेत्रमा व्यावासिकता र उत्पादनको स्तरमा वृद्धि गर्न सकिन्छ।
गाउँमा मानिस बस्न को लागि अब विविध प्रकारका आकर्षक कार्यक्रम र कार्यविधि बनाइरहनु आवश्यक छ। जस्तै, कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि उत्पादनमा आधारित उद्योगको स्थापना, र ग्रामीण पर्यटनको प्रवर्द्धन गर्नाले गाउँको स्थिति सुधार्न मद्दत पुर्याउँछ। यही बेला हो, जब सरकार र स्थानीय निकायहरूले ग्रामीण क्षेत्रको विकासको लागि ठोस नीतिहरू ल्याउनुपर्छ। यसले रोजगार सिर्जना गर्ने र गाउँको अर्थतन्त्रलाई गतिशील बनाउनेछ।
यदि हामी उत्पादनलाई बढाउन सफल हुन्छौं भने, विदेशबाट खाद्यान्नको आयात घटाउन सकिन्छ। अहिले हाम्रो देशले गुन्द्रुक, कोदो, तरकारी लगायतका उत्पादनहरूको आयात अत्यधिक गरेको छ, जुन नेपाली कृषकहरूको लागि चुनौतीपूर्ण बनेको छ। खोटागंको बराहापोखरी जस्तो योजनाले यदि अरू ठाउँमा पनि लागू गर्न सकियो भने, यी उत्पादनहरूको आयात घटाउन र गाउँको उत्पादन क्षमतालाई बढाउन मद्दत पुर्याउन सकिन्छ।
गाउँलाई पुनः हराभरा र जीवित बनाउनका लागि, हामीलाई केहि महत्वपूर्ण कदमहरू चाल्नु पर्छ। पहिलो, उत्पादनको प्रवर्द्धन गर्न र कृषि क्षेत्रमा विभिन्न प्रविधिहरूको प्रयोग गर्नुपर्छ। दोस्रो, युवा वर्गलाई आकर्षित गर्न नयाँ रोजगारका अवसरहरू सिर्जना गर्नुपर्छ। तेस्रो, गाउँको भौतिक पूर्वाधारमा सुधार ल्याएर जीवनस्तरमा सुधार गर्नुपर्छ। र चौथो, ग्रामीण पर्यटन र अन्य स्थानीय स्रोतहरूको सृजनशील प्रयोग गर्नुपर्छ।
यस प्रकार, देशका अन्य स्थानहरूमा पनि बसाई सरी आउनेलाई आकर्षित गर्ने कार्यक्रम कार्यविधिहरू निर्माण गर्नु आवश्यक छ। यसका लागि, सरकार र स्थानीय निकायहरूको सहयोग अपरिहार्य छ। यदि हामी गाउँको विकास र समृद्धि चाहन्छौं भने, यस्ता प्रयासहरूले मात्र समस्याहरूको समाधान गर्न सक्नेछन् र गाउँलाई पुनः हर्षित र हराभरा बनाउनेछन्।