इटहरी । देशको अर्थतन्त्र धारासायी बनेको अवस्थामा विदेशमा बसेका नेपालीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स पठाएका छन् ।
नेपाल राष्टबैँकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार देशमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आर्थिक वर्ष सोही अवधिको तुलनामा यो २२।७ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १।८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६।६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको छ ।
नयाँ श्रमस्वीकृती लिएर विदेश जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले वृद्धि भई २लाख ६० हजार २६२ पुगेको छ ।

