इटहरी । व्यावसायी भिम बहादुर पौडेल समुहको लगानीमा बनेको इटहरीको पाँच तारे होटल सन्चालनमा आएको छ ।
सोल्टी होटल लिमिटेड अन्तर्गत दोस्रो हाइ इण्डो होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’ नाम दिइएको यस होटललाई काठमाण्डौको तारे होटल सोल्टी ब्रान्डले सन्चालन गरेको हो जेठ ३ गतेबाट संचालनमा आएको यो होटलमा ८० वटा विभिन्न ४ क्याटागोरीका रुमहरू रहेका छन् । सोल्टीको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल हुनेछ। सोल्टीले काठमाण्डौ पछि चितवन , नेपालगन्ज र इटहरीमा ब्राण्ड होटल चलाइरहेको छ ।
भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा गरेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पूर्वका पर्यटकिय क्षेत्र र भारतीय पर्यटकका साथै कोशी प्रदेश घुम्न आउने जो कोटिका लागि पनि प्रदेशकै तेस्रो पाँच तारे होटलको रुपमा सोल्टीले आफ्नो ढोका खोलेको उपाध्यक्ष चापागाई बताउँछन् । होटल निर्माता कम्पनी गरिमा होटल प्रालिका अध्यक्ष भिम बहादुर पौडेलले होटलमा हालसम्म २ अवर्ण हाराहारीको लगानी भएको जानकारी दिए ।
आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेन्ड इटहरी’ को नाममा संचालनमा आएको हो ।
कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ८० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।
कम्पनीका अनुसार दुईवटा बैंक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभिन्न सुविधा रहेको छ।
होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा सेवा संचालन गर्ने उनले जानकारी दिए। इटहरी आफैंमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने होटलका निर्देशन सिनेट रिजालले बताए ।
होटलमा ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ, १०० जना क्षमताको फाइन डाइनिङ र ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी रहेको छ भने एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा बैंक्वेट हल समावेश गरिएको छ।
होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा राखिएको जनाइएको छ।