इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार, छठलगायत पर्वहरुको शुभकामना दिदै तिहारमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार शुभकामना तथा अनुरोधको अपिल जारी गर्दै देउसी भैलो १० बजेसम्म मात्र खेल्न आग्रह गरेकी हुन् । प्रजिअ पाण्डेले देउसी भैलोलाई अनुशासित भई संयमित तरिकाले खेल्न पनि अनुरोध गरेकी छिन् । साथै पटका, भुँईचम्पा, आतिसबाजी लगायत राज्यले निषेध गरेका बिष्फोटक पदार्थहरुको बिक्रीवितरण तथा प्रयोग नगर्न र जुवाजन्य खेलहरु नखेल्न, नखेलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
यसैगरि, मादक पदार्थ सेवन गरी जथाभावी सवारी नचलाउन, हो हल्ला गरेर शान्ति सुरक्षामा खलल नपुर्याउन आग्रह गर्दै प्रशासनले कानुन विपरीत गतिविधि गरे कारबाही हुने पनि चेतावनी दिएको छ । समाजमा भाइचारा, मातृत्व र बन्धुत्व कामय गर्दै संयमता अपनाएर धार्मिक चाडपर्वहरु हर्षोल्लासपुर्ण वातावरणमा मनाउन पनि प्रजिअ पाण्डेले जिल्लाबासीसँग आग्रह गरेकी छिन् ।