इटहरी । इटहरी उपमहानगरको नेकपा एमालेबाट निर्वाचित भएका इटहरी नगर कार्यपालिका सदस्यहरुले दशैँ बिदा सकिएको ४८ घण्टाभित्र कार्यपालिका बैठक बोलाउन मेयर हेमकर्ण पौडेललाई अल्टिमेटम दिएका छन् ।
बिहिबार बोलाइएको कार्यपालिका बैठक एजेण्डामै नपसि नगरप्रमुखले स्थगीत गरेको आरोप लगाउँदै नेकपा एमालेका कार्यपालिका सदस्यहरुले कात्र्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग गरेका हुन ।

यदी मेयरले बैठक राख्न नसक्ने हो भने उपमेयरको अध्यक्षतामा बैठक राख्न भन्दै २० जना कार्यपालिका सदस्यले हस्ताक्षर सहितको पत्र मेयर पौडेललाई सम्बोधन गरेर लेखेका छन् । बेष्ट सञ्चारलाई प्राप्त पत्र अनुसार कर समायोजन गर्न धेरै ढिला भएको उल्लेख गर्दै तुरुन्त बैठक बोलाउन माग गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत पत्रमा लगाइएको छ । विजया दशमीको बिदा सकिने दिन कात्र्तिक १० गतेका मितिले ४८ घण्टा भित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ ।
नगर उपप्रमुखलाई बोधार्थ गरिएको पत्रमा नगर प्रमुखले बैठकको अध्यक्षता गर्न नसक्ने भए नगर उप प्रमुखले बैठक बोलाउनसमेत माग गरिएको छ ।

