प्रकाश बन्जारा ।
इटहरी । सामान्यतया टोल विकास संस्थाको काम टोलको विकासको लागि पहल गर्ने हो । पछिल्लो समय धेरै टोल विकास संस्थाहरु बाटो बिराएर आफ्नो कतव्य नै भुलिसकेको अवस्थामा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४ को मनोकामना हाइट टोल विकास संस्थाले पनि आफ्नो काम कत्तिपनि नबिर्सिएको पाइन्छ ।
टोलको विकासका लागि वडा कार्यलय तथा स्थानीय पालिकासँग समन्वय गर्नेदेखि लिएर टोलका आवश्यकता र समस्याको समाधान टोलमै गर्न टोल विकास संस्थाहरु स्थापना भएका हुन । बेला बेलामा स्थानीय सरकारले विकास निर्माणको काम होस या त स्थानीय सरोकारका काममा टोल विकासलाई पत्तै नदिँदा पनि समस्या आउने गरेको छ तर इटहरी ४ को मनोकामना हाइट टोल विकास संस्थामा भने त्यो समस्या देखिएन ।
संस्थाको २ कार्यकाल उपाध्यक्ष पछि अध्यक्ष बनेका इटहरी ४ का योगेन्द्र भट्टराई मनोकामना टोल विकास संस्था टोलबासिको विकास र निर्माणको लागि सारथी भएको दावी गर्छन । साहित्य सिर्जनामा समेत उत्तिकै रुचि राख्ने योगेन्द्रले टोलबासिका लागि गरेको पहल कदमीले पनि मनोकामना टोल विकास संस्थालाई हाइटमा पुर्याएको स्थानीयबासी बताउँछन् ।
२०६० सालमा स्थापना भएको मनोकामना हाइट टोल विकास संस्था कुनै समय ७० घरधुरी सम्म सदस्य थिए तर पछिल्लो समय करिव ४ दर्जन घरधुरी संस्थाको सदस्य रहेको योगेन्द्र सुनाउँछन् ।
टोलको सरसफाइदेखि लिएर टोलका हरेक पोलमा पोल वत्ति र होल्डर अनि स्विचको व्यवस्था गर्नुका साथै आफ्नो टोलको विकासका लागि बाटो, नाला र टाली बिच्छ्याउन समेत टोल विकासले पहल गर्ने गरेको छ । स्थानीय सरकारको बजेट निर्माणमा टोल विकास संस्थाबाटै विकासको माग गर्नुपर्ने प्रावधानले गर्दा टोलको आवश्यकता अनुरुप बिकास र बजेट माग गर्न टोल विकासलाई सहज समेत भएको छ ।
सामान्यतया महिनामा एक दिन मासिक बैठक बस्ने र झिनो नियमित बचत उठाउने देखि लिएर आवश्यक पर्नेले झिनो व्याजदरमा सापटी लिने दिने काम टोल विकास संस्थाले गर्ने गरेका छन् । पछिल्लो समय नीति परिमार्जन गर्दै सहकारी संस्थाले गर्ने जस्तो बचत तथा ऋणको कारोबार गर्न टोल विकास संस्थालाई कडाई गरिएको छ । मनोकामना हाइट टोल विकास संस्थाका हरेक सदस्यहरुले मासिक २ सय रूपैँयाका दरले आफ्नो बचत राख्ने गरेका छन् भने झिनो व्याजमा संस्था भित्रैका आवश्यक पर्नेले सापटी लिने गरेका छन् । कोषमा धेरै रकम जम्मा भएका कारण तीन महिना पहिलामात्रै प्रति सदस्य झण्डै साढे १९ हजार रूपैँयाका दरले कोषमा जम्मा भएको रकम घरधुरी सदस्यलाई फिर्ता गरेको मनोकामना हाइट टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र भट्टराईले बताए ।
टोल विकासकै पहलमा ५ यस टोलको ५ वटा बाटोमा ब्लक बिच्छ्याउन बजेट निकासा गराएको साथै जेष्ठ नागरिक भवन जाने बाटोलाई पटक पटकको पहल पछि हिड्न सक्ने अवस्थामा ल्याइएको अध्यक्ष भट्टराई सुनाउँछन् ।
टोलको विकासमा संस्थालाई अग्रस्थानमा ल्याउन सचिव ठाकुर प्रसाद पुरी र कोषाध्यक्ष मुना खतिवडा भट्टराईको पनि उत्तिकै हात रहेको छ ।त्यसो त यो टोल विकास संस्थाले तिहारमा द्यौसी भैलो खेलेर केहि भाँडा वर्तन समेत जोडेको छ । जसले टोलमा हुने लघु पुजा तथा अन्य साना कार्य गर्न बाहिर जानुपर्दैन । भाँडा, गिलास , थाला भट्टी चालु जस्ता सामान संस्थामा जोडिएको छ ।
हरेक बर्ष बार्षिक लेखा परिक्षण गराउने, बार्षिक साधारणसभा गरेकै समयमा टोलका वृद्ध वृद्धालाई भेला गरेर वनभोज गर्ने तथा मनोरन्जन गराउने टोल विकास संस्थाले गर्दै आएको कर्म हो ।
भर्खरै सम्पन्न भएको तीजमा महिला दिदी बहिनीलाई दर खुवाउने देखि लिएर कोरोना महामारीको बेला राहत बाड्न सम्म मनोकामना हाइट टोल विकास संस्था पुगेको रहेछ । ‘कतिपय काम हामी आफैँ गछौं कतिपय अवस्थामा दाताहरूलाई गुहार्नुपर्ने पनि हुन्छ धेरै दातासँगको सहकार्य हाम्रा साथी राम भण्डारीले गर्नुहुन्छ । ’योगेन्द्रले हामीलाई सुनाए ।
यसै बर्ष यो टोल विकास संस्थाले नगरपालिकाको सहयोगमा आलु चिप्स तथा दालमोठ र भुजिया बनाउने तालिम संचालन गरेको रहेछ । घरेलु तथा साना उद्योग कार्यलय र इटहरी २० की समति राई ले तालिम दिएपछि टोलका केहि महिलाहरु अहिले आफुलाई आवश्यक परेको बेला दालमोठ भुजिया आफैँ बनाउने भएको र कोहि त तालिम दिन सक्ने अवस्थामा समेत पुगेको अध्यक्ष भट्टराई बताउँछन् ।
आफ्नै कार्यकालमा मनोकामना हाइट टोल विकास संस्थाको एउटा भवन निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष भट्टराईले हामीलाई सुनाए । संस्थाको लागि जग्गा प्राप्तिको पहल भइरहेको उनको भनाई थियो ।