झुम्का । रामधुनी नगरपालिका अन्तर्गत नगरक्षेत्रमा कार्यरत कर्मचारीले निजामति कर्मचारी सेवा ऐन अन्तर्गत आफुहरुले सेवा दिइरहेको भन्दै तिन तहकै कर्मचारीलाई एउटै ऐनमा समावेश गरिनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।
संघीय सांसदमा पेश भएको निजामति सेवा विधेयकले स्थानीय तहका कर्मचारीको बिषयमा केहि नबोलेको भन्दै स्थानीय तहमा काम गर्ने कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
रामधुनी नगरपालिका अन्तर्गतका संघर्ष समितिका संयोजक दुर्गेश विश्वकर्माको नेतृत्वको कर्मचारी टोलीले आइतबार प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् भने दश बजेदेखि एक घण्टा काम समेत बन्द गरेका छन् ।
नगरप्रमुख तथा उपप्रमुखलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको भएता पनि दुवै जना कार्यलय बाहिर रहेको हुँदा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका सचिव विरेन्द्र सिग्देलले जानकारी दिए । संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेट्ने गरी एकिकृत निजामति कर्मचारी विधेयक आउने पर्ने भएता पनि सरकारले स्थानीय तहका कर्मचारीलाई विधेयकमा समावेश नै नगरका कारण आन्दोलन गर्नुपर्ने अवस्था आएको संघर्ष समितिका संयोजक दुर्गेश विश्वकर्माले बताए ।
नगरपालिकाको सभाहलमा भेला भएका कर्मचारीहरुले एक घण्टा पेन डाउन गर्दै आजै केहि कर्मचारीको टोली संघिय संघर्षका कार्यक्रममा सरिक हुन काठमाण्डौ प्रस्थान गर्ने भएको छ । सरकारले लोकसेवा पास गरेर सरकारकै सहजताका लागि समायोजन भएर स्थानीय तहका खटिइआएका कर्मचारीलाई आफ्नो विधेयकमा नसमेट्नु दुखद भएको उनिहरुको बुझाई छ ।
कर्मचारीहरुले स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवा अन्तर्गत नै हुनुपर्ने , निजामति परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने, तीन तहका कर्मचारीको वृतिविकास समान हुनुपर्ने , स्थानीय तहका कर्मचारीलाई पनि टेड युनियनको अधिकार दिइनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।