इटहरी । राजनितिक दाउपेजमा अर्को पार्टीमा आस्था भएको व्यक्तिलाई प्रद्यानाध्यापकमा नियुक्ति गराएको भन्दै आफ्नै पार्टीको कार्यपालिका सदस्यलाई हटाउन वडा अध्यक्ष लागिपरेका छन् ।
इटहरी १६ स्थित सरस्वती जब्दी माध्यामिक विद्यालय कांग्रेसको प्रधानाध्यापक नियुक्ति गरेको भनी कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरीले नेकपा एमाले नगर कमिटीमा सिफारिस गरेको विषयले अहिले चर्चा पाएको छ ।
शेर्पालाई कार्यपालिका सदस्यबाट नहटाउन माग राख्दै सोमबार नेपाल अदिवासी जनजाति महासंघ इटहरीले इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनित कार्यपालिका सदस्य शेर्पा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत हुन् । उपल्लो कमिटिको नेताहरूको निर्देशनमा वडा नं १६ इटहरीको वडाध्यक्ष चौधरीलाई प्रयोग गरि कारवाहीको लागि सिफारिस गरिएको जनजाति महासंघको ठहर छ । महासंघले विद्यालयमा हुने प्रधानाध्यापकको नियुक्ति राजनैतिक भागवण्डाको लागि नभई निष्पक्ष र प्रकृयागत रूपमा योग्यता र क्षमताको आधारमा हुनु पर्ने महासंघले मेयर पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बिनागल्ती कसैको राजनैतिक चरित्र हत्याहुने किसिमले कारबाहीको लागि सिफारिस गर्ने कार्यको महासंघले घोर भर्त्सना गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेकपा एमालेका इटहरी उपमहानगरका अध्यक्ष यामकुमार सुब्बालाई पनि सो पत्र सोमबारै बुझाउने भनिएपनि काठमाठौं गएकाले बुझाउन नसकिएको महासंघ ले बताएको छ ।

