प्रकाश बन्जारा ।
इटहरी । इटहरी उपमहानगरपालिकाले हालै गरको आन्तरिक सरुवा प्रक्रियामा आपत्ती जनाउँदै उपमेयर सहितका २४ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकिय अधिकृत मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
उपमहानगरले हालै आफु अन्तर्गतका कार्यलयमा व्यापक सरुवा गरेको थियो । उपमहानगरको कार्यलयबाट गरिएको सरुवा मापदण्ड विपरित , आग्रह र पूर्वाग्रह राखेर मनोमानी ढंगले गरिएको नेकपा एमालेका बहुमत कार्यपालिका सदस्यको बुझाई छ ।
२४ जना कार्यपालिका सदस्यको नाम राखिएपनि १७ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा वडा कार्यलय र स्वास्थ्य चौकीहरूको सहज संचालन भइरहेको कामलाई प्रतिकुल असर पर्ने जनाइएको छ । उपमहानगरको सांगठनिक संरचना व्यवस्थापनमा समेत हुँदै नभएको शाखा महाशाखा थप गर्ने र भएका महाशाखालाई हटाएर शाखा बनाउने र सो स्थानमा गैरकानुनी ढंगबाट कर्मचारी सरुवा गरिएको देखिएको ठहर उपमेयर संगीता कुमारी चौधरी सहितका कार्यपालिका सदस्यले गरेका छन् ।
उनीहरुले ज्ञापन पत्रमा प्रत्येक एक बर्षमा कर्मचारी सरुवा गर्दा प्राविधिक कर्मचारी सारिएको र उनीहरुले धेरे समय वडाको वस्तु स्थिती हेर्दै मा जाने भएकाले वडाको दैनिक कामकाजमा असर पर्ने बताइएको छ ।
कर्मचारीहरुको सामान्यतया २ बर्षमा मात्रै सरुवा गर्ने नियम भएको बताउँदै ज्ञापन पत्रमा कर्मचारीहरुको सरुवा विधि पद्धतीलाई ख्यालै नगरी पुर्वाग्रहको भरमा गरिएको बताइएको छ । यस्तो सरुवालाई वद्धर गर्न नेकपा एमालेबाट निर्वाचित वडा सदस्य र कार्यपालिका सदस्यहरुले सामुहिक माग गरेका छन् ।
उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत राम चरित्र मेहतालाई बुझाइएको ज्ञापन पत्र, नगरप्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय समेतलाई बोधार्थ गरिएको छ ।
ज्ञापन पत्रका वडाअध्यक्षहरू उमेश सुवेदी, माधव कोइराला, भक्त लामा, देव नारायण चौधरी, तेज नारायण चौधरी, प्रभात आचार्य, साथै कार्यपालिका सदस्यहरु विन्दा केसी, राधिका पौडेली, दिपा राई, तारा ढकाल, भिमा कुमारी तुम्बाहाम्फे, श्रीनारायण चौधरी, जय नारायण चौधरी, रमेश चौधरी, भुवनराज पोखरेल, केशव प्रसाद कोइराला, अवशेष चौधरी, भीष्म कुमार घिमिरे, प्रमोद शेपाको नाम रहेको छ ।