इटहरी । इटहरीको कान्छी चोकमा शुक्रबार राती करिव १०ः ४० मा चार जना सवार मोटरसाइकल पिकअप सँग ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार राती अनारस, भुइँकटहर बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअप सँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाइकलमै सवार एक जना घाइते छन् ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुई जना इटहरी १६ बस्ने अन्दाजी २६ बर्षको करण चौधरी र शम्भु चौधरीको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रातीनै करिव ११ बजेर २६ मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यलय पकलीका बरिष्ठ प्रहरी सहायक निरिक्षक नवराज सिंह बस्नेतले जानकारी दिए ।
घाइते मध्ये एक जना अनिमेष चौधरीलाई विर्तामोड स्थित विएनसि हस्पिटल पठाइएकोमा उनको समेत शनिवार विहान ६ बजेट २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक भारत दार्जीलिङ फोडि गढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।