इटहरी । बैदेशिक रोजगारीमा पठाउने भन्दै ग्रामिण भेगका युवालाई प्रलोभनमा पारेर पासपोर्ट र पैसा संकलन गर्ने इटहरी ५ की सुशिला घले सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरीमा वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी ५ निवासी ३८ वर्षीया सुशीला घले र मोरङको सुन्दरहरैँचा ५ निवासी ५० वर्षीय प्रेमकुमार चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार दुवैजनालाई घलेको निवासबाट नगद ८ लाख ३९ हजार २ सय ४५ रुपैयाँ र १२ थान पासपोर्टसहितत पक्राउ गरिएको हो ।
उनीहरूले ग्रामीण क्षेत्रका युवाहरूलाई पैसा असुलेर ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवैजना पक्राउ परेपछि १० जनाभन्दा बढी स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीमा उनीहरूबाट ठगिएको भन्दै किटानी जाहेरी दिएका छन् ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत सुनसरीबाट सातदिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

