इटहरी । इटहरी उपमहानगरको स्थानीय रसायनिक मल व्यावस्थापन समितिले उपमहानगरका कृषि सहकारी र मल बिक्रेताहरुको अनुगमन गरेको छ ।
खेती बालीमा मल हाल्नुपर्ने समय भएकाले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट अनुदानमा ल्याइएका मलहरू कस्तो अवस्थामा छन् जसको मौज्दात के कति छ भनेर उपमेयरको नेतृत्वमा भएको स्थानीय रसायनिक मल व्यावस्थापन समितिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ४ वटा सहकारीमा हेर्दा ३ वटामा युरिया र डिएपी दुवै मल पाइएको र एक वटा सहकारीमा भने डिएपिमात्रै पाइएको अनुगमनमा संलग्न कृषि विकास शाखा इटहरीकी प्रमुख गंगा माया अधिकारीले बताइन ।
उपमेयर संगीता कुमारी चौधरी सहितको टोलीले मल भण्डारण कसरी भएको छ र कसरी बिक्रि वितरण भइरहेको छ भन्ने समेत अनुगमन गरेको थियो । उपमेयरको नेतृत्वमा रहेको स्थानीय रसायनिक मल व्यावस्थापन समितिका कृषि विकास शाखाकी प्रमुख गंगा माया अधिकारी सहित प्रमुख प्रशासकिय अधिकृत रहेका छन् ।