प्रकाश बन्जारा ।
इटहरी । कोसी प्रदेश भलिबल संघलाई प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशले २ बुँदे निर्देशन सहित स्पष्टिकरण माग गरेको छ ।
प्रदेश खेलकुद बोर्डले आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समन्वय गर्ने खेलाडी, कोच तथा रेफ्रिलाई कोसी प्रदेश भलिबल संघले कारबाही गर्दै खेलमै खेलमै प्रतिवन्ध गर्ने निर्णय गरेको थियो । सो निर्णयले खेलाडीहरुको मनोबलमा असर गर्ने भन्दै बोर्डले ३ दिन भित्र बैठक बसि क्षमा याचना सहितको पत्र खेलाडीलाई दिन निर्देशन दिएको छ ।
बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेको निर्देशनमा दमकमा सन्चालन हुने खेलाडी प्रशिक्षणमा खेलाडीमाथि अपमान गरेको तथा प्रशिक्षकको आधिकारिकता माथि प्रश्न उठेको भन्दै नेपाल भलिबल संघको अनुमति तथा बोर्डको निर्देशनमा मात्रै प्रशिक्षण गराउन भनिएको छ ।
यस्तै बोर्डले गत जेठ २९ गतेदेखि ३२ गतेसम्म सन्चालन गरेको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा खेलाडी, कोच, अफिसियल को बिषयमा सामाजिक सन्जालमा नकारात्मक टिप्पणी आएको भन्दै उक्त विषयमा स्पष्ट पार्ने भलिबल संघलाई ७ दिनको समय दिइएको छ ।
यस्तै सोहि खेलको समन्वय गरेको जिल्ला भलिबल संघ सुनसरी सहित कोच, रेफ्री, खेलाडीलाई संघले स्पष्टिकरण सोधेको भन्दै उक्त स्पस्टिकरणको आधिकारिकता सम्बन्धमा समेत स्पष्ट पार्न प्रदेश भलिबल संघलाई भनिएको छ ।
प्रदेश भरी खेलको नियमन निकाय प्रदेश खेलकुद बोर्ड हुँदा हुँदै खेलाडीलाई अपमान गर्दै कारवाही गर्नु सान्दर्भिक नभएको भन्दै बोर्डले ७ दिन भित्र स्पष्टिकरण पेश गर्न प्रदेश भलिबल संघलाई अल्टिमेटम दिएको छ ।