इटहरी । धेरैलाई जागिर पछिको जिन्दगी कसरी विताउने भन्ने तनाव हुन्छ । जीवनको लामो समय अर्थात जोश जाँगर र उत्साहको समय जागिरमा व्यतित गरेपछि रिटायर्ड लाइभ तनाव रहित होस भन्ने चाहाना धेरैको हुन्छ । जानेर या नजानेर नेपाली जीवनशैली जागिर पछि भनेअनुसार नै व्यतित नभइरहेको तथ्य हामी सामु छर्लङ्ग छ ।
मान्छेलाई गलत बाटोमा लैजाने भनेको सम्पन्नताले पनि हो तर त्यो कुरा पटक्कै लागु हुँदैन इटहरी ६ सुनसरीमा भरत तामाङ्ग को जीवनमा । उनले न त आफु सम्पन्न नभएको महशुस गरे न त गलत बाटो नै समाए । उनकै शैलीमा भन्नु पर्दा रिटायर्ड लाहुरे हरु धेरै बिग्रेका छन् जसको कारण भनेको खानपान रहन सहन र उट्पट्यागंको जीवनशैली पनि हो । यी सबैको पछाडी परिवारको हात हुन्छ जब मान्छेले परिवारसँग समय विताउँन थाल्छ अनि सबै कुरा विर्सिदै जान्छ साथै परिवारमा पनि विश्वासको वातावरण बन्छ ।
इटहरीको एक किसान परिवारमा हुर्केका भरतले सानैदेखि अभावको महशुस गर्नुपरेन आफ्नो स्वभाव र मेहनतले उनलाई लाहुरे बनायो । सिंगापुर पोलिसमा २५ बर्षे जागिर सकाएर ४ बर्षअघि नेपाल फर्किएका भरत आफुलाई सिंगापुर र आफ्नो कर्मभुमिबाट कुनै गुनासो छैन ।
लाहुरे हुन नसकेर व्यावसायी बनेका भरतका बाबुको पढाई कमजोर हुँदा चुरोटको बट्टामा धर्का तानेर हिसाव राखेको याद भरतलाई ताजै छ । ३ भाई छोराका कान्छा भरत आफ्नो जेठा दाजु लाहुरे बनेपछि दाजुबाट धेरै आशा राख्नेमा पर्दथे तर दाजुबाट आशा गरेको केहि नपाउँदा लाहुरे बनेरै देखाउने इख बढेको थियो पछि थाहा भयो दाजुले त म असल बनु, गलत बाटोमा नहिँडौँ भनेरै मलाई सहि बाटोमा हिँडाउने प्रयास गर्नुभएको रहेछ भनेर ।
साढे १७ बर्षको उमेर देखि लाहुरे बन्ने प्रयास गरेका भरतले २० बर्षको हुँदा सपना साकार बनाउन सकेका थिए । ताप्लेजुङ्गबाट छनौटमा परेर पोखरा पुगेपछि त्यहाँ हुने लामो छनौट प्रक्रियामा पहिलो पटक असफल भएका भरत दोस्रो पटक भने ताप्लेजुङ्गबाटै फालिए । जसरी नी लाहुरे बन्नुपर्ने उनको अठोट तेस्रो प्रयासमा सफल भयो । धरानको महेन्द्र र इटहरीको जनता क्याम्पसमा व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका भरतले मोरङ्गको ज्योती निमाविबाट निम्न माध्यमिक र साजिलालबाट एसएलसी सम्मको अध्ययन गरेका थिए ।
निरन्तरको लगाव, मेहनत र अठोटका कारण भरतलाई असफल बनाउने समयको प्रयास सफल हुन सकेन । ९ महिनाको तालिम सकाएर पास आउट भएपछि ठुलो दाजुले सिंगापुरमै भेट्न पुगेको याद अहिले पनि गर्छन । तालिम अवधिमा हरेक गतिविधिमा आफुलाई अव्वल सावित गर्न लागिपरेका भरत स्वीमिङ्गमा भने उनको बटालियनकै १ नम्बरमा थिए ।
लाहुरे बनेर पहिलो छुट्टीमा आउँदा पैसा भन्दा बढी सामानमै खर्च गरेका थिए भरतले । उनलाई पैसा बचाउनु खुम्चिनुमा सोख थिएन ।
जिन्दगी सिकाई हो , भोगाई हो अनि अनुभव हो । भरतले जिन्दगीका हरेक क्षणहरु भोग्दै हरेक क्षणबाट सिक्दै गए यति सम्मकी लाहुरे बनेर ६ महिने छुट्टीमा आउँदा समेत फुर्सदको समय कम्प्युटर र भाषा पढाईमा खर्च गरेका थिए ।
लाहुरे भएकै कारण समयमा फुर्सद नपाउँदा भरतको विवाह झण्डै ढिला हुन पुग्यो । विवाहको तयारी गर्दा गर्दैै एउटा छुट्टि चाँडै फर्किनु परेपछि उनले भर्ति भएको ११ बर्षपछि मात्रै धरानकी सुधा तामाङ्ग सँग लगन गाँठो कसेका थिए । सुजा त्यतिवेला स्नातकको तेस्रो बर्षमा अध्ययन गर्दै थिइन ।
परिवार, जागिर अनि आकांक्षा तीन फरक कुरालाई व्यवस्थापन गर्नु वास्तवमा चुनौति नै हुन्छ जसले मिलाएर लान सक्छ उनको जीवन रंगीन हुन्छ जसले मिलाउन सक्दैन पैसाले मात्रै कुनै उपलव्धी दिन सक्दैन । प्रमोसनको पखाईमा रहेका भरतले परिवारको महत्व तव चिने जव उनलाई फायर आर्मको तालिम गर्दै गर्दा बटालियनका एक साथीले गल्फ हेर्न कोर्टमा लगे ।
अफिसरको तयारी गरिरहेका भरतले परिवारसँग गल्फमा मनोरन्जन लिन थालेपछि त्यो चाह छाडिदिए । उनलाई गल्फले रमाउन सिकायो । परिवारसँग समय विताउने बाहाना , फुर्सद विताउने बाहाना अनि जिन्दगी विताउने तरिकामै फरक ल्याइदियो गल्फको नसाले ।
सिंगापुरमै उनीहरु परिवारै गल्फ खेल्न जान्थे । हुँदा हुँदा गल्फमा परिवारकै नसा चढ्दै गयो । अहिले बाबु छोरा नै गल्फमा मस्त हुन्छन् । भरतले गल्फ खेल्न थालेको २०१७ बाट रहेछ । हुन त गोरखा भर्तीमा गएकाहरुलाई गल्फ खेल्न छुट दिएको पनि लामो समय भएको छैन ।
गल्फ त्यसै पनि महंगो खेलको रुपमा हेरिन्छ जसको एक सेट सामान खरिद गर्दै सेकेण्ड हेण्डलाई नै ७० हजार माथि पर्ने रहेछ । सबैको पहुँचमा नहुने गल्फको कोर्ट नेपालमा विरलै छन् । कोशी प्रदेशमा धरान एकमात्रै गल्फ कोर्ट भएको ठाउँ हो ।
गल्फको नसा चढ्दै गएपछि भरतले इटहरी ६ स्थित आफ्नै घरको छतमा गल्फको बल हान्ने छुट्टै ठाउँ बनाएका छन् अनि त्यो बलको गति नाप्ने छुट्टै यन्त्र समेत जोडेका छन् । जसमा दिनहुँ उनको प्राक्टिकल चल्ने रहेछ । ‘हरेक विहान रंगशालामा दौडिएर आएपछि छतमै बल हान्ने गरेको छु ।’ भरतले हामीलाई सुनाए ।
सन् २०१९ मा २५ बर्षे सर्भिस सकेपछि नेपाल आएका भरतलाई सबैभन्दा गाह्रो भनेको एक छोरा र छोरीलाई नेपालको अक्षर र नेपालको पढाइसँग परिचित गराउनु थियो । दैनिक ४ घण्टा सम्म नेपाली शिक्षक घरमै बोलाएर विस्तारै नेपाली सिकाएपछि बल्ल सन्तानले यहाँको भाषा र पढाइसँग घुलमिल हुन सकेका रहेछन् ।
नेपालीहरुको सबैभन्दा खराव बानी भनेको साँझ पर्नासाथ अल्कोहल मा रमाउन होटल छिर्ने रहेको भरतको बुझाई छ । ‘साँझ पर्नासाथ यस क्षेत्रका होटल रेस्टुरेन्ट हरु व्यस्त हुन्छन् । सरकारी देखि निजी क्षेत्रका कर्मचारीहरु कतिबेला कुन रेस्टुरेन्टमा भेट्ने भन्ने योजनामा लागिरहन्छन् । ’ भरतले सुनाए ।
त्यसभन्दा फाल्टो कर्मचारी प्रशासनले नेपालमा धेरै दुख दिने गरेको भरतको अनुभव छ । नेपाल आएपछि गल्फमा लागेका बाबुछोराने निकै पटक सिल्ड र मेडलहरु जितिसकेका छन् । छोराले जुनियर तर्फको उपाधि जितेका छन् भने भरतले सिनियर तर्फको ।
सुर्य नेपाल वेस्टर्न ओपन पोखरा २०२०, एमाचोर गल्फ टुर्नामेन्ट मा द्धितीय, सुर्य नेपाल धरान ओपन गल्फ प्रतियोगिता २०२१, खुकुरी ओपन जस्ता प्रतियोगिता भरतले कुनै न कुनै तहमा जित निकालेका प्रतियोगिताहरु हुन ।
धेरै लाहुरे हरुले कमाइको धेरै अंश घरमा लगानी गर्ने गर्छन भरतले त्यो गरेनन् बरु कमाई हुने ठाउँमा लगानी गरेका छन् जसको केहि अंशले जिन्दगी मज्जाले चल्दैछ ।
कृषि तालिम लिएका छन् भरतले जसको फल स्वरुप सुन्दरहरैंचा नगरपालिकाको हसिना सिमसार नजिकै आफ्नो बाबुले जोडेको थलोका बाख्रा पालन गरेका छन् । सानो आकारबाट सुरु गरेको भरतको बाख्रा फार्ममा अहिले ४१ वटा बाख्रा पुगेको उनले हामीलाई बताए ।
जिन्दगीलाई संघर्षसँग दाँज्ने भरतको चाहाना आफ्नो छोरालाई गल्फर बनाउने रहेछ । धरान गल्फ क्लवको सचिव तथा कोशी प्रदेश गल्फ संघको उपाध्यक्ष समेत रहेका तामाङ्ग परिवारसँगको जिवन नै सार्थक मान्छन् । आफ्नो संघ मार्फत प्रदेशमा गल्फको विकास गर्नमा लाँग्ने भरतले हामीलाई सुनाए ।
छोटो बसाईको लामो कुराकानी हामीले साझँपाख टुगांयौँ । जाँदा जादैँ भरतको रुफटप गल्फकोर्ट र रुफ टपमै एउटा यस्तो सेल्फि हान्दै विदा भयौँ । आफ्नो गल्फको नसालाई सार्थक बनाउन भरतलाई थुप्रै शुभकामना ।