इटहरी । नेपाल प्रहरीले मोरङको धनपालथान गाउँपालिका २ स्थितबाट कटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान २ स्थित भित्री सडकखण्डमा रोकेर राखेको बीआर ०६ पीए १३६२ नम्बरको स्कारपियो गाडीलाई शंका लागेर चेकजाँच गर्दा पेस्तोलसहित पक्राउ गरेको हो । गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको हो ।
गाडीमा गोलीसहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा ७ का २७ वर्षीय रवीन्द्रकुमार यादव, गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा ७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला ६ का २२ वर्षीय राम दयाल यादवलाई पक्राउ गरिएको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।