कवि नवराज पराजुलीले गरे युएईको दुवईमा एकल कविता कन्सर्ट, कवि भवानी नेपाल सम्मानित

प्रकाश बन्जरा । युएई ।

युवा पुस्ताले मन पराएका कवि नवराज पराजुलीको एक कविता कन्सर्ट सयुक्त अरव ईमिरेट्स युएईको दुवईमा आइतबार सम्पन्न भएको छ । कविता यात्रामै झण्डै ५ महिना अमेरिकामा विताएर नेपाल फर्किँदै गर्दा युएईको दुवईमा रहेको सिर्जना वाचन डवलीले कवि पराजुलीको कविता कन्सर्ट जुराएको हो ।

कवि पराजुलीले आफ्ना चर्चित कविता मध्ये , ह्याप्पि बर्थडे, सगरमाथाको गहिराई, बामपन्थि लभ लगायतका कविता वाचन गरेर दर्शकलाई मनोरन्जन दिएका थिए । धेरै जसो कलाकार बोलाएर सांस्कृतीक कार्यक्रम आयोजना गरिने दुवईमा भएको यो कार्यक्रममा नेपाली राजदुतावास युएईका राजदुत महामहिम तेजबहादुर क्षेत्री प्रमुख श्रोताको रुपमा उपस्थित थिए भने नेपाली दुतावासका श्रम सहचारी समेत श्रोताको रुपमा उपस्थित भएर कार्यक्रमलाई महत्वपुर्ण बनाएका थिए ।

अध्यात्मसँग सम्बन्धित रहेको “ध्यान” शीर्षकको कविताबाट आफ्नो प्रस्तुति प्रारम्भ गरेका कवि पराजुलीले दर्शकहरुलाई मन्त्रमुग्ध बनाइराख्दा कतिपय अवस्थामा भावुक समेत बनाए ।
कार्यक्रममा बोल्दै कवि पराजुलीले बुद्ध नेपालमा जन्मिएको हो भनेर गर्व गर्ने हरेक नेपालीले बुद्धले भनेका कुराहरुलाई थोरै भए पनि आफ्नो जीवनमा लागु गर्नुपर्ने बताए ।

कवि पराजुलीलाई यसअघि सन् २०१८ मा सिर्जना वाचन डबलीकै आयोजनामा कविता यात्राको लागि युएई बोलाइएको थियो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरुङको सभापतित्वमा सम्पन्न समारोहमा कवि पराजुलीलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी, झापाली समाज युएईका तर्फबाट पनि कवि पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख श्रोताको रुपमा उपस्थित भएका राजदूत तेज बहादुर क्षेत्रीले मानव जीवनका लागि साहित्य आवश्यक भएकोले यसको सम्बर्धन गर्दै जानु पर्ने बताए । कवि पराजुलीलाई बधाई दिँदै क्ष्ेत्रीले नेपाली साहित्यलाई यसरी नै विश्वमाझ फैलाउँदै लैजान उहाँले कवि पराजुली सहित सबैलाई आह्वान गर्नुभयो ।

आयोजक डबलीको तर्फबाट राजदूत क्षेत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो । भने कवि पराजुलीलाई डवलीले सम्मान गरेको थियो ।

दुबईको वरदुबई स्थित क्लव एसके सेभेन मा दिउँसो २ बजेबाट सुरुभएको कविता कन्सर्टमा युएईमा रहेर साहित्य सिर्जना गरिरहेका तीन दर्जन बेसी सर्जकहरुको पनि विशेष प्रस्तुति रहेको थियो ।

सोही कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०८१ मा उत्कृष्ट २५ भित्र पर्न सफल कवि तथा गजलकार श्री भवानी नेपाललाई सम्मान गरिएको थियो । प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा युएईबाट पहिलोपटक कवि नेपाल छ्नौटमा पर्नुभएकाले सम्मान कार्यक्रम राखिएको डवलीले जनाएको छ । कवि नेपालको दुई अंक शिर्शकको कविताले कविता महोत्सव समेत तताएको थियो ।

कार्यक्रम गजलकारद्वय जे सागर र श्री भवानी नेपालले पालैपालो कार्यक्रम सञ्जाल गरेका थिए । कार्यक्रमलाई क्लव एसके सेभेन हस्पिटालिटी पार्टनरको रुपमा काष्ठमण्डप रेस्टुरेन्ट, कन्सल्टेन्सी पार्टनरको रुपमा युनिभर्सल ब्लु ओसन कन्सल्टेन्सी, ट्राभल पार्टनरको रुपमा नमस्ते ट्राभल एण्ड टुरिजम र सहयोगीको रुपमा घान्तुत स्टार रेस्टुरेन्ट तथा घान्तूत नेपाली क्याफे वरदुबईले सहयोग गरेको आयोजकले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.