प्रकाश बन्जरा ।
फुजेराह सयुक्त अरब ईमिरेट्स युएईको एउटा प्रान्त हो । ईमिरेट्सकै सबैभन्दा ठुलो शहर भईकन पनि कम जनसंख्या र गाउँले जीवनले ओतप्रोत भएको फुजेराह कला, संस्कार र संस्कृतीले भरिपुर्ण भएको ठाउँको रुपमा परिचित छ ।
ओमानको बोर्डरसँग छोएको यो प्रान्तमा सार्की खानदानले शासन सञ्चालन गर्दै आएका छन् । यहाँका रुलरको नाम शेख हमाद विन मोहम्मद अल सार्की हो । खोला, झरना, पहाड र ईण्डियन ओसनसँग छोएर रहेको यो प्रान्त युएई बस्ने तथा घुम्न आउने पर्यटकको समेत भ्रमण गन्तव्यको सुचिमा रहेको छ ।
बिशेषगरी फुजेराको पहाड हेर्न जाने पर्यटकको घुइचो लाग्ने गर्छ । हाइकिगंका साथै लामो ड्राइभमा जान चाहानेहरुले रोज्ने गरेको फुजेराहा राज्यको मुख्य आम्दानीको स्रोत भनेको कृषि र मत्स्य व्यावसाय हो । पहाडले घेरिएको हुनाले यो प्रान्तमा युएईकै बढी बर्षा हुनेगर्छ । बढी बर्षा हुने भएकाले यहाँका बासिन्दा कृषिलाई प्राथमिकतामा राखेर व्यावसाय गर्ने गरेका छन् ।
युएईको पर्सियन गल्फभित्र नपर्ने एउटामात्रै प्रान्त पनि हो फुजेराह जसको सिमाना ओमानको खाडीसँग जोडिएको छ । फुजेराह पहिले ओमानको ट्रुसियल स्टेटभित्र पर्ने बिश्वास गरिन्छ ।
दुवईबाट सामान्यतया सेख खालिफा विन जायद रोड पक्रिँदा १२६ किलोमिटर टाढा पर्ने यो प्रान्त युएईका अन्य ६ वटा प्रान्त भन्दा सस्तो जीवनयापन गर्न सकिने प्रान्त पनि हो । यहाँको रहनसहन र बसाई सस्तो मानिन्छ ।
दुवईबाट फुजेराह कनेन्सन भएको डाइरेक्ट बस नहुँदा ट्याक्सिमा यात्रा गर्ने पर्यटकलाई ७५ अमेरिकी डलरदेखि ९० अमेरिकी डलरसम्म भाडा लाग्ने गर्छ । ट्याक्सिमा फुजेराहा पुग्न लगभग १ घण्टा १८ मिनेटको हाराहारी लाग्ने गरेको अनुभवीहरु बताउँछन् । जुन रोडले अनुमति दिने गतिमा सवारी चलाउँदा लाग्ने समय हो ।
युएईमै सबैभन्दा बढी पानी पर्ने र प्रान्तको धेरैभाग पहाडले ढाकेको यो ईमिरेट्समा हजार नामको पहाड पर्ने हुनाले दुवईभन्दा धेरै ठण्डा प्रान्त पनि हो । जाडो महिनामा त यहाँका पहाडमा हिउँ समेत पर्ने गर्दछ ।