इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीको आयोजनामा इटहरीमा प्रदेशस्तरीय क्यान इन्फोटेक सुरू भएको छ ।
बिहीबारदेखि सुरु इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरणका लागि राखिएको छ । इन्फोटेक फागुन १४ गते सम्म चल्नेछ ।
इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्वपूर्ण स्थानमा पुर्याउने बताए ।
सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने र इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने व्यवस्था रहेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताए ।
प्रदर्शनीमा सर्वसाधारणका लागि ५० रूपैयाँ र विद्यार्थीका लागि २५ रुपैया शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था रहेको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, महासंघका सचिव शम्भु धमला, टाइटल स्पोन्सर हिक्भिजनका प्रबन्ध निर्देशक प्रमोद अधिकारी, क्यान महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रवन्धक निर्देशक कमल तिम्सिना, क्यान महासंघ महासचिव चिरञ्जीवी घिमिरे, इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेल, इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी टेकबहादुर कार्की, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल लगायतको सहभागीता रहेको थियोे ।