रामधुनीमा नगरसरकारले काम गर्न नसकेको काङ्ग्रेसको आरोप

झुम्का । रामधुनी नगरपालिकामा वर्तमान नेतृत्वको कार्यशैली सन्तोषजनक नरहेको नेपाली काङ्ग्रेसको आरोप छ ।

काङ्ग्रेस  रामधुनी नगर समितिले आइतबार  नगरप्रमुख शंकरलाल चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मुलुकको दोस्रो कार्यकालको निर्वाचित स्थानीय निकाय अगावै साबिकको भासी गाविसको दुई कार्यकाल अध्यक्ष सम्हाली सक्नुभएका नगरप्रमुखले कामै गर्न नसकेको आरोप लगाएको हो।

नगरप्रमुखले निर्वाचित भएको दुई वर्ष पुरा हुनै लाग्दा समेत रामधुनी जस्तो सम्भावनाले भरिएको नगरपालिकामा कुनै पनि प्रभावकारीरुपमा गर्न नसकेको काङ्ग्रेसको भनाइ छ  ।

पूर्व नगर उपप्रमुख लगायत जिम्मेवार निकायका जम्बो टोली आफै भ्रष्टाचारमा संलग्न भएका आरोपहरू बाहिर आइरहँदा रामधुनी बासीको शिर निहुरिएको जनाउँदै नगर प्रमुखले नगरपालिकालाई विकाशको गति दिन नसक्दा सरोकारवाला राजनैतिक दलहरूलाई लज्जा बोध भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन लगायतका क्षेत्रमा कुनै प्रगति हुन नसकेको जनाउँदै स्थानीय सरकारले गर्न सक्ने आधारभूत सेवा सुविधा पनि जनतालाई उपलब्ध गराउन नसक्दा नगरवासी दुखद अवस्थाबाट गुज्रिरहेको जनाइएको छ ।

रामधुनीमा बाहुल्य रहेको थारु जातीको भाषा, कला र संस्कृक्तिको संरक्षण, संवर्द्धन तथा विकाशमा स्थानीय सरकार मौन रहेको उल्लेख गर्दै थारु कला र संस्कृतिलाई व्यवसायीकरण गरी आयआर्जनको रूपमा विकसित गराउने दिशामा स्थानीय सरकार अगाडी बढ्न काँग्रेस नगर समितिले जोडदार माग गरेको छ ।

नगरपालिका भित्र रहेका नगर उन्मुख गाउँहरूलाई पूर्वाधार विकास गरी सहर बनाउने तथा यहाँ बसोबासरत आदिवासी जनजाति दलित महिला अपाङ्गता भएका व्यक्ति पिछडिएको वर्ग सीमान्तकृत समुदाय लगायतको शिक्षा स्वास्थ्य र जनजीवनसँग सरोकार राख्ने विषयहरूमा बजेट विनियोजन गर्न जरुरी ठानी रामधुनी नगरपालिकालाई समृद्ध नगर काँग्रेस नगर कार्य समितिले २४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको नगर सभापति सुदिप अधिकारीले बताए ।

ध्यानाकर्षण गराइएका बुँदाहरूमा रामधुनीका नागरिकहरुकलाई सुविधा सम्पन्न अस्पतालको व्यवस्था गर्नुपर्ने, रामधुनी मन्दिरलाई नगरकै धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्न रामधुनी मन्दिरमा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरको साधु, सन्त, महन्त, धर्म गुरुहरू लगायत जिम्मेवार सरोकार पक्षसँग समन्वय गरी रामधुनी जनकपुर अयोध्या (रामायण सर्किट) जोडने संयन्त्र तत्काल निर्माण गरी कार्यान्वयनमा अगाडी बढाउनुपर्ने माग गरिएको छ ।

यस्तै रामधुनी नगरपालिकामा थारु संग्रालय निर्माण, त्यसको व्यवस्थापन र विकास गर्नुपर्ने, थारुहरूको मौलिक ग्रामथानहरूको विकास निर्माणमा यथोचित बजेट व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । नगरमा थारु जातीलाई प्रथम जाती घोषणा गरी स्थानीय निकायमा कामकाजको भाषा थारु भाषा घोषणा गर्नुपर्ने र प्राथमिक तहमा स्थानीय थारु भाषामा पठनपाठन गराउने व्यवस्था गरिनुपर्ने माग समेत गरिएको छ ।

यस्तै खेलकुदको समुचित विकासका लागि वार्ड वार्डमा भएका खेल मैदानको संरक्षण संवर्द्धन तथा खेलकुदलाई उचित बजेट व्यवस्थापन गर्न र उद्यम विकास तथा क्षमता अभिवृद्धि गर्ने कार्य गर्नुपर्ने माग गरिएको छ । नगरबाट दिइएको आर्थिक सहयोग मनोमानी ढङ्गबाट आवश्यकता भन्दा बढी आफ्ना आसेपासे, पार्टीका कार्यकर्ताको भरण पोषणका लागि वितरण गरेको पाइएको जनाउँदै तत्काल त्यस्ता कार्य रोक्न माग गरिएको छ ।

नगर सभामा समावेश नै नभएका योजना कार्यक्रमहरूलाई बोर्ड बैठकबाट कार्यान्वयन गराइएको पाइएकोले त्यो नियम विपरीत तथा अव्यवहारिक भएका कारण त्यो परिपाटीलाई तत्काल रोक्नुपर्ने र राजश्व चुहावट भएको कुराहरू बाहिर आइरहेकोले  त्यसलाई गम्भीरतापूर्वक लिई त्यसको पारदर्शिता ढङ्गले व्यवस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्र बोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.