ललितपुर । ललितपुरको बालकुमारीमा अश्रुग्यास लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
घाइते अवस्थामा किस्ट अस्पताल लगिएका दैलेखका सुदन राउत र पाटन अस्पतालमा डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले बताए ।
मन्त्रीको गाडी जलाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । ईपीएस परीक्षाको माग राख्दै प्रदर्शनमा रहेका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडपको स्थिति सृजना भएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।