इटहरी । थारु कल्याणकारिणी सभा सुनसरीको अधिवेशन नजिकिँदै जादा रामधुनी र इनरुवाका नगर सभापतिहरुले विद्यान विपरित जिल्ला अधिवेशन प्रतिनिधि छनौट गरेको आरोप लागेको छ ।
भावी जिल्ला सभापतिका आकाक्षिँका साथै सरोकारवालाहरुले मंगलबार रामधुनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इनरुवा र रामधुनीका नगर सभापतिहरुले अधिवेशनको लागि जिल्ला प्रतिनिधि छनौट गर्दा विद्यानको पालना नगरेको आरोप लगाएका हुन ।
थारु कल्याणकारिणी सभा (था.क.स.) सुनसरीको जिल्ला अधिवेशन २०८० मंसिर ३० र पौष १ गते गर्ने मिति तय गरेको अवस्थामा नगरबाट साविक गाविसको आधारमा प्रतिनिधि छनौट गर्नुपर्नेमा सो नभएको आरोप लागेको हो ।
अधिवेशनका लागि मंसिर २५ गते सम्म उपमहानगर, नगर तथा गाउँ समितिबाट प्रतिनिधि माग गरेको थियो । जिल्लाले साबिक भुगोलको आधारमा ३ जना छनौट गरी प्रतिनिधि माग गरेको भएपनि अध्यक्षको एकलौटी, गुपचुप, चोरबाटो, ब्यक्तिगत स्वार्थ सिद्ध, घर–घरमा मान्युट लगेर हस्ताक्षर गरेको, एकै परिवारका पाँच ब्यक्ति प्रतिनिधि बनाएको आरोप लगाएको छ ।
रामधुनी र इनरुवा नगरबाट छनौट भएका प्रतिनिधिहरु सदस्यता रसिद नकाटेका समेत रहेकाले वैधानिकताको छानविन गर्न जिल्ला कार्य समितिलाई माग गरेको हो । रामधुनी र इनरुवा नगरबाट छनौट भएका प्रतिनिधिहरु अध्यक्षको मनोमानी ढंगले पठाएकोले छानविन गरी बिधानको आचार संहिता विपरित कार्य गर्नेलाई निलम्बन गरी विधान ऐन नियम अनुसार जिल्ला अधिवेशन गर्न समेत माग गरिएको छ ।
था.क.स. इनरुवा नगर समितिका सभापति रोहित चौधरीले वडा सभापतिलाई जानकारी नै नदिई नगर समिति सभापतिको एकै परिवारका चार जना दाजुभाई, बुहारी, काका, काकीको छोरालाई प्रतिनिधि बनाएर पठाएको पठाएको इनरुवा वडा नं. ६ मधेसा था.क.स.वडा सभापति राजाराम चौधरीले आरोप लगाएका छन् ।
थारु संघ संघ संगठनमा सबैको सहभागीता हुनु पर्नेमा एकलौटी गर्दै इनरुवा नगर समितिको सभापतिले थारुको माग मुद्धा ओझेलमा पार्न खोजेको बताए ।
इनरुवा वडा नं. ९ बबियाका था.क.स.वडासदस्य कृष्ण चौधरीले बबियाको थारु हरुलाई अपहेलित विभेद गरेको आरोप लगाएका छन् । नगर समितिबाट हुने बैठक, निर्णय कुनै पनि जानकारी नदिने र बबियाका थारु हरुलाई थारुको रुपमा नलिने जस्ता अपहेलना गर्ने गरेकोले नगर समितिका सभापति थारु नेतृत्वको लायकनै नरहेको था.क.स.वडासदस्य कृष्ण चौधरीले बताए ।
यसैगरी था.क.स.रामधुनी नगर समितिबाट पनि प्रतिनिधि छनौटमा पूर्वाग्रह गरेको आरोप रहेको छ । नगर समिति सभापति राजकुमार चौधरीले प्रतिनिधिहरुको छनौटमा मनोमानी गरेकाले जिल्ला कार्य समितिले छानविन गर्नु पर्ने थारु अधिकार अभियान्ता तथा थाकसको सदस्य नविन चौधरीले बताएका छन् ।
रामधुनी नगर समितिको सवालमा समितिको सभापति चौधरीले नगर सदस्यहरुलाई पनि भ्रममा पारेको नगर सदस्य समेत रहेका सुनिल चौधरीको भनाई छ ।
पत्रकार सम्मेलनमा था.क.स.केन्द्रिय पुर्व अध्यक्ष चन्द्रकुमार चौधरी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी, थारु महिला सभा सुनसरी पूर्व अध्यक्ष सुशिला चौधरी, थारु महिला सभा रामधुनी नगर समिति सभापति लिलि चौधरी, इनरुवा वडा नं. ६ मधेसा था.क.स.वडा सभापति राजाराम चौधरी, इनरुवा वडा नं. ९ बबिया था.क.स. वडासदस्य कृष्ण चौधरी लगायतको उपस्थिती थियो ।