झुम्का । रामधुनी नगरपालिकाले १६ दिन सम्म चलेको लैङ्गिक हिंसा बिरुद्धको अभियानको झुम्केश्वर मन्दिर अगाडी दिप प्रज्वलन गर्दै समापन गरेको छ ।
बिभिन्न वडाहरूका फरक फरक कार्यक्रम गर्दै मंसिर ९ गतेदेखि चलेको अभियान मंसिर २४ गते आइतबार उपमेयर थापा थापा लगायत महिला तथा बालबालिका शाखाका प्रतिनिधि साथै सामाजिक संस्थाका प्रतिनिधिले दिप प्रज्वलन गर्दै समापन गरेका हुन ।
“लैङ्गिक हिंसा अन्यको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ चलेको अभियान समापन गरिएको हो ।
नगर उपप्रमुख तारा थापाको उपस्थितीमा झुम्का बजार स्थित दिप प्रज्वलन गर्दै म, हिंसा गर्दिन, हुन दिन्न भएमा प्रतिकार गर्छु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरीएको छ । समापन कार्यक्रममा उपप्रमुख थापाले आफनो धारणा राख्दै कुनै पनि हिंसा मानव अधिकार बिरुद्ध तथा समाजको शान्ति सुरक्षा बिरुद्ध रहेकोले न्युनिकरणका लागि सबै पक्षबाट पहल हुनु पर्ने बताइन ।
अभियान अन्तर्गत प्रत्येक वडामा सचेतना तथा हिंसा बिरुद्ध कानूनी परामर्श सहित जेष्ठ नागरिकहरूमा सम्मान र पोषिलो खाना बितरण गरिएको महिला तथा बालबालिका शाखा रामधुनीका प्रमुख मोनाश्री आचार्यले बताउँछिन् ।
अभियानले महिला, पुरुष, जेष्ठ नागरिक, बालबालिका लगायत सबै वर्गका समुदायले लैङ्गिक हिंसाको पहिचान, सुरक्षित रहन सक्ने अवस्था, कानूनी उपचारका लागि प्रकृयाका बारेमा जानकार भएको शाखा प्रमुख आचार्यको भनाई थियो ।
समापन कार्यक्रममा महिला, तथा बालबालिकाहरुको संघ संगठनका प्रतिनिधिहरु उपस्थित भएका थिए । रामधुनी नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानलाई आत्मसाथ गर्दै मंसिर ९ गते शनिवार सचेतना अभियान उद्धघाटनगरी सुरु गरिएको थियो ।
रामधुनी १ मा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतना सहितको कार्यक्रम गर्दै सुरु गरेको थियो । अभियानमा सेभ द अर्थ , इलाका प्रहरी कार्यालय पकली, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी, इटिसी नेपाल, आसमा नेपाल लगायत थिए ।