इटहरी । गाउँकै एक महिलासँग अनैतिक सम्बन्ध रहेपछि धरानको शुभकामना होटलबाट रंगेहात पक्राउ परेका रामधुनी वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतमको घटनाको सम्बन्धमा पार्टीले छानविन गर्ने भएको छ ।
आइतबार बसेको नेकपा एमाले पार्टी जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्यबाट वडा अध्यक्ष केशव गौतमलाई निलम्बन गर्दै तीन सदस्यीय छानविन समिति समेत गठन गरेको हो ।
एमाले सुनसरी जिल्ला कमिटी सदस्य रहेका वडा अध्यक्ष गौतमलाई विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका बिषय बस्तुका आधारमा घटनाको निरूपण नहुँदासम्मका लागि पार्टीबाट निलम्बन गरिएको एमाले सुनसरीका उपसचिव राम कोइरालाले बताए ।
गौतमसँग जोडिएको घटनाको सम्बन्धमा नेकपा एमाले जिल्ला कमिटी उपसचिव राम कोइरालाको संयोजकत्वमा तीन सदस्यीय कमिटी बनाइएको कोइरालाले जानकारी दिए । समितिमा रामधुनी नगरपालिकाकी उपप्रमुखसमेत रहेकी तारा थापा र अधिवक्ता विरेन्द्र बस्नेत सदस्य छन् ।
छानविन समितिलाई घटनाको अध्ययनका लागि १५ दिनको समय दिइएको र समितिको प्रतिवेदनका आधारमा दोषी देखिए गौतममाथि पार्टीले आवश्यक कारबाही गर्ने एमाले जिल्ला कमिटीले जनाएको छ ।
जनताबाट निर्वाचित भएको वडाअध्यक्ष भएको हुनाले उनीमाथि पार्टीले गर्न सक्ने कारवाही गरेको र नैतिकताको आधारमा गौतमले राजिनामा दिएर मार्ग प्रशस्त गनुपर्ने आवाज सुनिन थालेको छ ।” पार्टीको आशय भनेको यति कारवाही गरेपछि नैतिकताको आधारमा गौतमजीको राजिनामा आओस् भन्ने हो तर उहाँले आफ्नो नैतिकता देखाउनु होला ” एमाले जिल्ला कमिटी स्रोतले भन्यो ।
यद्यपि पार्टीको छानविन समितिले दिने प्रतिवेदनको आधारमा दोषि देखिए उनीमाथि थप के कारवाही गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।