प्रकाश बन्जारा
इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ६ कि अस्मिता चौधरीको आइतबार विहान देखि बेलुका सम्मको समय प्रहरी चौकी र नगरपालिकामा वित्यो ।
सार्वजनिक सुनुवाई कार्यक्रम भएकाले नगरका प्रमुख, उपप्रमुख सहित सम्पुर्ण जनप्रतिनिधि नगरपालिका प्रांगढमै थिए ।
आफ्ना बाबुले दोस्रो विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोकि पाउँ भन्दै इलाका प्रहरी कार्यलय पकली पुगेकी अस्मितालाई इलाका प्रहरी कार्यालयले अस्थाई प्रहरी चौकी पाञ्चायन पठायो ।
पन्चायनबाट पुन इः इलाका प्रहरी पकली नै र अन्त्यमा बहुविवाहको जाहेरी सम्बन्धित श्रीमान अथवा श्रीमतीबाट हुनुपर्ने भन्दै विवाह रोक्न नसकिने जवाफ प्रहरीबाट पाएपछि अस्मिता रामधुनी नगरपालिकाको कार्यलय पुगेकी थिइन ।
न्यायीक समिति समेत रहेकाले रामधुनी नगरपालिकाबाट आफ्नो समस्या समाधान हुने अस्मिताको विश्वासमा तुषारापात भयो । महिला तथा बालबालिका शाखाका प्रतिनिधी सहित उपमेयर र प्रस्तावित इलाका प्रहरी कार्यलय झुम्काका प्रमुख प्रहरी निरिक्षक सुजन मुदेलको सयुक्त छलफलले पनि आइतबार दिउँसो हुँदै गरेको रामधुनी ६ का सुजित कुमार चौधरीको दोस्रो विवाह रोक्न सकेन ।
आमा सरला चौधरी बैदेशिक रोजगारको लागि कुवेत गएको मौकामा दोस्रो विवाह गर्दै गरेका उनका बाबु सुजित कुमार चौधरीको उमेर करिव ४० बर्ष भएको अस्मिता बताउँछिन् ।
आफ्नी काकीसँग नगरपालिका पुगेकी अस्मिताको माग नगरपालिका भन्दा ३०० मिटर अगाडी रामधुनी ३ को दुर्गा मन्दिरमा हुँदै गरेको विवाह रोकिदिनु भन्ने थियो तर न त प्रहरीले सहयोग गर्यो न त नगरपालिका र नगरपालिकामा भएको न्यायिक समितिले केहि गर्न सक्यो ।
अस्मिताका अनुसार उनका बाबु सुजित कुमार चौधरीको पहिलाकै सम्बन्धबाट एउटा बच्चा भइसकेको रहेछ । तीनै महिलासँग सुजितले आइतबार दोस्रो विवाह गरेको अस्मिताले बताइन । बाबाले दोस्रो विवाह गर्न लागेको खवर आफ्नी कुवेतमा रहेकी आमा सरला चौधरीलाई समेत जानकारी गराएको अस्मिताले बताइन ।
इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक केशव गौतम अस्मिताले जाहेरी नभई विवाह रोकिदिन भन्दै आएको बताए । बाल विवाहलाई तुरुन्त रोक्न सक्ने भएता पनि बहुविवाहलाई प्रमाणित नभई आफुहरुले रोक्न नसक्ने गौतमको भनाई छ । बहुविवाहको उजुरी सम्बन्धित श्रीमान तथा श्रीमतीले गर्न सक्ने भएता पनि त्यसो नभएको गौतमले बेष्ट सञ्चारलाई सुनाए ।
यता रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले आफुले प्रहरी प्रशासनसँग कुराकानी गरेको र इलाका प्रहरीमा अस्मिताले बाबुआमाको प्रमाण सहित जाहेरी दिन सक्ने बताइन । समयमा जानकारी समेत नआएको कारण विवाह रोक्न नसकिएको उपमेयर थापाको भनाई थियो ।
उपप्रमुख तारा थापाको सम्पर्कमा आफुले जाहेरीका लागि इलाका प्रहरीमा आउन आग्रह गरेको इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक केशव गौतमले बताए ।