सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको चौथो साधारणसभा सम्पन्न, आगामी बर्ष ४० लाख नाफा गर्ने लक्ष्य

प्रकाश बन्जारा ।
इटहरी । कोशी प्रदेशका सहकारी संस्थाहरुको लगानी तथा प्रदेश सरकारको अनुदानबाट दुध पाउडर उत्पादन गर्ने लक्ष्य सहित स्थापना भएको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको चौथो बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

कोशी प्रदेशको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न संघको साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष बाबुराम खत्रीले संस्था निर्माण चरण पार गर्दै उत्पादनको चरणमा प्रवेश गरेको बताए ।

शुरुवाति चरणमा थुप्रै संघर्षका बावजुत संस्थाले सफल परिक्षण गरेर दुध पाउडर उत्पादन गर्न शुरु गरेको खत्रीको भनाई थियो । दैनिक पाँच हजार टन दुध प्रशोधनको क्षमता भएको कारखानाले हाल दैनिक सरदर ४० हजार लिटर दुध प्रसोधन गरिरहेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेल बताउँछन् ।

२०७७ सालमा स्थापना भएको कोशी प्रदेशको एकमात्र विशिष्टिकृत सहकारी संघले प्रदेशभित्रका दुग्ध उत्पादन किसानले मिल्क होलिडे मनाउन नपरोस भनेर पाउडर बनाउने सपना पुरा भएको बताउँदै कार्यक्रमका वक्ताहरुले आगामी दिनमा कसरी अगाडी बढ्ने भनेर सोच्ने बेला आएको बताएका थिए ।

कार्यक्रममा बोल्दै कामधेनु दुग्ध विकास सहकारी संस्था इटहरीका अध्यक्ष यादव ढकालले किसानको दुध उत्पादन मुल्य बढ्दा समस्या उत्पन्न भएको बताउँदै उत्पादन मुल्य घटाउने बिषयमा सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

दुध जन्य पदार्थमा लाग्दै आएको करमा पुनर्विचार गरिनुपर्ने भन्दै ढकालले किसान मैत्री सरकार नभए दुध उत्पादन गर्ने अर्को पुस्ता नरहने समेत बताए । ‘दुध उत्पादन गर्ने हाम्रो पुस्ता अन्तिम पुस्ता हुनसक्छ त्यसबारेमा आजै सोच्ने बेला आएको छ ।’ ढकालको भनाई थियो ।

छिमेकी मुलुकबाट दुध पाउडर तथा दुग्ध जन्य पदार्थ नेपाल भित्रिरहेको बताउँदै ढकालले बिभिन्न नामबाट नेपाल भित्रिने भारतीय दुग्ध जन्य पदार्थ रोक्न नसके कामधेनु लगायतका संस्थाहरु किसानलाई दुधको पैसा तिर्न नसक्ने अवस्थामा पुग्ने बताएका थिए ।

कार्यक्रममा सहकारी विकास बोर्डका पुर्व सञ्चालक तथा एनएमसि डेरीका पुर्व अध्यक्ष रामचन्द्र उप्रेतीले कोशी प्रदेशमा उत्पादन हुने दूधलाई पाउडरको रुप दिन कोशी प्रदेश सरकारले गरेको सहयोगको सदुपयोग भएको भन्दै मुलुकमा अव पाउडरको सदुपयोग बढाउने चकलेट उद्योगहरु खुल्नुपर्ने तर्क अघि सारेका थिए । उप्रेतीले नेपालमा उत्पादन भएको पाउडर दूधलाई विदेश निर्यात गर्ने सम्बन्धमा प्रभावकारी नीति बनाएर कार्यान्वयन गर्दै दिर्घकालिन निकासमा जानुपर्ने बताए ।

कार्यक्रममा सुनसरी जिल्ला दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष राजेन्द्र धमलाले पाउडर उत्पादन शुरु गरेकोमा सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथिका रुपमा निम्त्याइएका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले सरकारले दुग्धजन्य पदार्थ तथा दुध पाउडर निर्यातका लागि प्रदेश सरकारले ४ करोड अनुदान बजेट पास गरेको बताउँदै त्यसको कार्यान्वयनमा नीजि क्षेत्रले उत्तिकै चासो देखाउनु पर्ने बताए ।

उनले सगरमाथा डेरी विशिष्टिकृत सहकारीको सञ्चालनका लागि प्रदेश मन्त्रालयको संलग्नतामा निर्देशक समिति गठन गर्ने र त्यसले समय समयमा संघले गरेको कामको निगरानी गर्ने समेत बताए ।

३० करोड ९५ लाख ८४ हजार ६०९ रुपैँया बासलाल रहेको संघले निर्माण चरणको ९५ प्रतिशत काम सकेको बताएको छ भने भदौबाट सञ्चालमा आएको पाउडर प्लान्टबाट ७० हजार केजी धुलो दुध उत्पादन गरिएको र ८० हजार केजी बटर भण्डारण गरेको बताएको छ ।

संस्थामा कोशी प्रदेशका ५९ वटा सहकारी संस्थाको २ करोड बढी लगानी छ भने प्रदेश सरकारले १९ करोड ३० लाख रुपैँया अनुदान उपलव्ध गराएको थियो ।

पाउडर उत्पादन शुरु गरिसकेका कारण आगामी बर्ष ४० लाख ९४ हजार नाफा कमाउने लक्ष्य लिएको संघका अध्यक्ष बाबुराम खत्रीले बताएका छन् । उनले ९ करोड ६७ लाख ७० हजार खर्च र १० करोड ८ लाख ६४ हजार आम्दानी गर्ने अनुमानित विवरण साधारणसभालाई प्रस्तुत गरेका थिए ।

साधारणसभाले आर्थिक प्रशासन नियमावली र कर्मचारी प्रशासन नियमावली समेत सर्वसम्मत पारित गरेको बताएको छ ।
संघका उपाध्यक्ष इकाराम प्रद्यानले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य दिपक कार्कीले सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.